पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–५ हर्दिया र वडा २ बगवानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय कृषक तथा जेन्जी युवाहरूको उल्लेखनीय सहभागिता रहँदै उम्मेदवार कानुलाई भव्य स्वागत गरिएको थियो। स्थानीयवासीको उत्साहजनक समर्थनले मुसैली क्षेत्रमा चुनावी माहोल थप सक्रिय बनेको देखिएको छ।
उम्मेदवार कानुले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्दै भने, “जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याइनेछ। स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाइनेछ।”
उनले कृषकका लागि समयमै मलको व्यवस्थापन गरिने तथा युवाहरूलाई रोजगारीयोग्य सीपमूलक तालिम प्रदान गरिने प्रतिबद्धता जनाए। साथै, रास्वपा नेतृत्वमा आएपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, शिक्षामा पहुँच विस्तार तथा स्थायी रोजगारीको व्यवस्थापन जनताको हितमा गरिने विश्वास व्यक्त गरे।
घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा र कृषिलाई केन्द्रमा राखेर आगामी दिनमा जनताको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याए। स्थानीयवासीहरूले पनि परिवर्तनमुखी एजेन्डा बोकेको रास्वपाप्रति भरोसा व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन जनाएका छन्।









