२०८२ फाल्गुन १९ गते मंगलवार

बिरगंज वडा नम्बर ६ मा अजय चौरसियाको घरदैलो, पर्सा–२ मा चुनावी माहोल ततायो

 

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अजय चौरसिया ले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्जस्थित धार्मिक तथा व्यापारिक केन्द्रहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानअन्तर्गत उनले माईस्थान मन्दिर, हनुमान मन्दिर लगायत आसपासका टोल–बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेका थिए।
चौरसियाले धार्मिक स्थलहरू वीरगञ्जको सांस्कृतिक पहिचानको धरोहर भएको उल्लेख गर्दै संरक्षण, सौन्दर्यीकरण र व्यवस्थित पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। “धार्मिक आस्था र सांस्कृतिक पहिचान जोगाउँदै यहाँको समग्र विकास अगाडि बढाउनु आवश्यक छ,” उनले भने।

घरदैलोका क्रममा स्थानीय व्यापारी, युवा तथा ज्येष्ठ नागरिकहरूसँग छलफल गर्दै उनले क्षेत्रका मुख्य समस्या सुने। बजार व्यवस्थापन, सडक मर्मत, ढल निकास, सरसफाइ तथा एवं व्यवस्थापनलाई प्राथमिकतामा राख्ने उनले आश्वासन दिए।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका चौरसियाले विगतमा पार्टीले गरेका विकास निर्माणका कामहरूको स्मरण गराउँदै निरन्तरता र नयाँ योजनासहित अघि बढ्ने बताएका छन्। “स्थानीय आवश्यकताअनुसार योजना निर्माण गरी दीर्घकालीन समाधान खोज्ने हाम्रो लक्ष्य हो,” उनले उल्लेख गरे।
युवाहरूका लागि रोजगारी सिर्जना, साना तथा मझौला व्यवसाय प्रवर्द्धन, महिला सशक्तीकरण तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्ने एजेन्डा उनले प्रस्तुत गरे।

घरदैलो कार्यक्रमका क्रममा स्थानीयले सडक विस्तार, पार्किङ व्यवस्थापन, खानेपानी समस्या र धार्मिक पर्यटकीय सम्भावना प्रवर्द्धनबारे सुझाव दिएका थिए। चौरसियाले ती सुझावलाई आफ्नो चुनावी घोषणापत्रमा समेट्ने प्रतिबद्धता जनाए।

चुनावी मिति नजिकिँदै जाँदा पर्सा–२ मा विभिन्न दलका उम्मेदवारहरूबीच प्रचार–प्रसार तीव्र बन्दै गएको छ। माईस्थान र हनुमान मन्दिर क्षेत्रको घरदैलोपछि चौरसियाको अभियान थप सक्रिय बनेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM