वीरगञ्ज महानगरपालिका वडा नं. १८ सौराहा निवासी तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा वडा अध्यक्ष पदका उम्मेदवार बनेर ४०४ मत प्राप्त गर्न सफल युवा तथा जुझारु नेता नरेश प्रसाद यादव औपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नुभएको छ।
एक विशेष कार्यक्रममा उहाँलाई पार्टीका स्थानीय नेताहरूले खादा तथा टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा वक्ताहरूले यादवको सक्रियता, सामाजिक प्रतिबद्धता र जनताप्रतिको समर्पण भावले पार्टी संगठनलाई वडा तथा नगरस्तरमा अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उल्लेखनीय मत प्राप्त गर्दै आफूलाई लोकप्रिय युवा नेताको रूपमा स्थापित गर्नुभएका यादवले अब संगठित शक्तिसँग सहकार्य गर्दै क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वडा नं. १८ सौराहाको समग्र उन्नतिका लागि सक्रिय रहने धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै स्थानीय नेताहरूले देश, प्रदेश र स्थानीय तहको समग्र विकासका लागि अब एउटै लक्ष्य र एउटै अभियानका साथ अघि बढ्ने बताए। “युवा नेतृत्वको सहभागिताले पार्टीमा नयाँ ऊर्जा थपिनेछ,” उनीहरूको भनाइ थियो।पार्टी प्रवेशसँगै यादवलाई नेकपा (एमाले) परिवारमा हार्दिक स्वागत तथा सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरिएको छ।









