२०८२ फाल्गुन १९ गते मंगलवार

पर्सा–१ मा घरदैलो अभियान तीव्र वीरगञ्ज–३२ टेढाको समग्र विकासका लागि विशेष प्याकेज ल्याउने सरार्फको प्रतिबद्धता

 

पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ टेढामा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै ग्रामीण वडाको समग्र विकासका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो अभियानमा सहभागी हुँदै उनले टोल–टोल पुगेर नागरिकका समस्या, गुनासा तथा सुझावहरू सुने। स्थानीयहरूले सडक स्तरोन्नति, ढल निकास व्यवस्थापन, कृषि सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए।

उम्मेदवार सरार्फले वीरगञ्ज महानगरको ग्रामीण क्षेत्रलाई उपेक्षित राख्न नहुने उल्लेख गर्दै वडा नं. ३२ टेढाको पूर्वाधार विकासका लागि ‘विशेष विकास प्याकेज’ ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए। उनले कृषि उत्पादन वृद्धि, युवा रोजगारी सिर्जना, साना उद्यम प्रवर्द्धन तथा आधारभूत सेवा सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताए।

“ग्रामीण वडा विकासविना समृद्ध वीरगञ्ज सम्भव छैन,” उनले भने, “टेढाको सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई योजनाबद्ध रूपमा अगाडि बढाउन आवश्यक बजेट र नीति निर्माणका लागि म पहल गर्नेछु।”
घरदैलो कार्यक्रममा स्थानीय समर्थक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विकासमुखी एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका थिए।

यस अभियानसँगै पर्सा–१ मा चुनावी गतिविधि थप तीव्र बनेको छ। उम्मेदवारहरू ग्रामीण क्षेत्रमा केन्द्रित हुँदै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाइरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM