राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी गतिविधिलाई थप तीव्र बनाएका छन्। अभियानअन्तर्गत उनले वीरगञ्ज महानगरपालिका–३० लालपर्सामा कोणसभा तथा वडा नम्बर–२ घुसुकपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
लालपर्सामा आयोजित कोणसभा दीपेन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उम्मेदवार पन्तले देशमा ठोस र दिगो परिवर्तन ल्याउन मतदाताले यसपटक आफ्नो मत परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। पुरानो राजनीतिक शैली र अभ्यासबाट अपेक्षित विकास सम्भव नभएको उल्लेख गर्दै उनले नयाँ सोच, नयाँ भिजन र इमानदार नेतृत्वका साथ रास्वपा चुनावी मैदानमा उत्रिएको बताए।
उनले पर्सा–१ को समग्र विकास, सुशासन, पारदर्शिता र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “अबको चुनाव केवल व्यक्ति रोज्ने होइन, व्यवस्था सुधारको अभियान हो,” उनले भने।
रास्वपाका जिल्ला सहसचिव तथा समानुपातिक उम्मेदवार कृष्णा पासवानले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय विनोद मण्डल, सञ्जय मण्डल, गम्भीरा गुप्ता, निजामुद्दीन अन्सारी, सुवासा यादव र धनपत ठाकुर लगायतले धारणा राखेका थिए। वक्ताहरूले यसपटक घण्टी छापका उम्मेदवार पन्तलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताउँदै क्षेत्रको विकासका लागि उनको विकल्प नभएको दाबी गरे।
यसैबीच, घुसुकपुरमा सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार पन्तले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै मत मागेका थिए। घरदैलो कार्यक्रम रास्वपा नेता महम्मद सम्साद आलम, शन्नी गुप्ता र तब्रेज शेखको नेतृत्वमा सम्पन्न भएको थियो। स्थानीय बासिन्दाले पन्तलाई भव्य स्वागत गर्दै यसपटक संसद्मा पुऱ्याउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए।
चुनावी माहोल तातेसँगै पर्सा–१ मा विभिन्न दलका उम्मेदवारहरूले घरदैलो, कोणसभा र भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। रास्वपाका उम्मेदवार पन्तले भने जनतासँगको प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै आफ्नो अभियानलाई निरन्तर अघि बढाइरहेका छन्।









