मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा हुने “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक (रिभिल) कार्यक्रम सम्पन्न भएको छ। ट्रफी सार्वजनिक समारोह वीरगञ्जको आदर्शनगरस्थित होटेल तृषलामा आयोजना गरिएको थियो।
कार्यक्रम ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिका रूपमा मारवाडी युवा मञ्चका अध्यक्ष अनुज रुङ्टा लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार स्वर्गीय सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यही फागुन २९ गते (१३ मार्च २०२६), शुक्रबार देखि वीरगञ्जको आदर्शनगर रंगशालामा सुरु हुनेछ।
प्रतियोगितामा १० वटा टिम सहभागी हुनेछन् भने प्रतियोगिता अवधिभर कुल २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ। प्रतियोगितामा बीटीएस प्लास्टर्स, टाइगर्स, जगुआर, कञ्चनजंगा लगायतका टिमहरू सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विजेता घोषणा गरिनेछ।
कार्यक्रम संयोजक केशव खेतानका अनुसार प्रतियोगिताले वीरगञ्जमा खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ। उनले स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता रहने तथा खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति हुने अपेक्षा गरिएको बताए।
यसैबीच प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रम वीरगञ्जका विभिन्न धार्मिक तथा महत्वपूर्ण स्थानहरूमा पनि गरिएको थियो। मितेरी पुल, शंकराचार्य गेट, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर तथा माइस्थान मन्दिरमा टिमका कप्तान तथा खेलाडीहरूको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको थियो।
उक्त कार्यक्रममा भन्सार शस्त्र प्रहरी भन्सार गुल्मका प्रहरी निरीक्षक निरज थापाको पनि विशेष उपस्थिति रहेको थियो।आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्नुका साथै स्वर्गीय सुशील कुमार खेतानको स्मृतिलाई सम्मान गर्नु रहेको छ। साथै यस प्रतियोगिताले वीरगञ्जमा क्रिकेट खेलको विकास र खेल संस्कृतिलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।








