२०८२ चैत्र ३ गते मंगलवार

दमकका डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

 

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरेको छ।

विभागीय मूल्य-मान्यता तथा आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–५ जस्तो अतिसंवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै कुनै अप्रिय घटना हुन नदिई सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, Gen-Z आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार तथा हिरासतबाट फरार प्रतिवादीहरूको खोजी गर्ने क्रममा कार्यालय नजिकैको झाडीबाट Y13487 नम्बरको मार्का–४ राइफल एक थान बरामद गरिएको थियो। साथै विभिन्न स्थानबाट १९ जना प्रतिवादी पक्राउ गर्न समेत उनी सफल भएका थिए।
फागुन महिनामा दर्ता भएका ३५ वटा मुद्दामध्ये Gen-Z आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई सबै फर्छ्यौट गरिएको थियो। आन्दोलनका कारण क्षति पुगेको इलाका प्रहरी कार्यालयको भवन, फर्निचर तथा विद्युतीय सामग्री स्थानीय तह, संघसंस्था र स्थानीय बासिन्दासँगको समन्वयमा पुनःनिर्माण तथा व्यवस्थापन गर्न उनले नेतृत्वदायी भूमिका खेलेका थिए।

यसैगरी, ध्वनि प्रदूषण गर्ने २१७ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिएको तथा चालु र पेण्डिङ मुद्दाका मिसिल पुनःनिर्माणमा समेत सक्रियता देखाइएको छ। साथै हालसम्म विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादी पक्राउ गर्न उनले महत्वपूर्ण योगदान दिएका छन्।
उक्त सम्पूर्ण कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै डीएसपी लम्साललाई “सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM