२०८२ चैत्र ५ गते बिहीबार

नारायणी रंगशालाको प्याराफिट पुनर्निर्माण सुरु, करिब ४ करोड बजेटमा काम अगाडि बढ्यो

 

लामो समयदेखि जीर्ण अवस्थामा रहेको वीरगञ्जको नारायणी रंगशालाको प्याराफिट पुनर्निर्माण कार्य बिहीबार शिलान्याससँगै सुरु गरिएको छ। मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले उक्त पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्।

जेनजी आन्दोलन अघिको सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको थियो। सोही बजेट अन्तर्गत रंगशालाको ‘ब्लक सी’ को प्याराफिट निर्माणका लागि काठमाडौंस्थित अंकुर निर्माण सेवाले २ करोड १७ लाख ७२ हजार रुपैयाँ (भ्याट बाहेक) मा ठेक्का सम्झौता गरेपछि काम सुरु भएको राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर शिवचन्द्र यादवले जानकारी दिए।

उनका अनुसार तत्कालीन केपी ओली नेतृत्वको सरकारले नै रंगशालाको पुनर्निर्माणका लागि बजेट छुट्याएको थियो, जसको निकासा भएपछि अहिले काम अघि बढाइएको हो। हाल रंगशालाका जीर्ण प्याराफिटहरू डोजर प्रयोग गरी भत्काउने कार्य सुरु भइसकेको छ। पहिलो चरणमा पुराना संरचना हटाएर नयाँ प्याराफिट निर्माण गरिने योजना रहेको इन्जिनियर यादवले बताए।पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले पनि जीर्ण संरचना हटाएर नयाँ निर्माण कार्य अघि बढाइएको जानकारी दिए।

काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठूलो मानिने नारायणी रंगशाला करिब ३५ हजार दर्शक अट्ने क्षमतासहितको हो। तर लामो समयसम्म मर्मत तथा पुनर्निर्माणको अभावमा यो रंगशाला जीर्ण बन्दै गएको थियो। खेलप्रेमी तथा खेलाडीहरूले करिब एक दशकदेखि यसको पुनर्निर्माणको माग गर्दै विभिन्न दबाबमूलक आन्दोलन गर्दै आएका थिए।संघीय तथा प्रदेश संसदमा समेत जनप्रतिनिधिहरूले पटक–पटक रंगशालाको पुनर्निर्माणको माग उठाउँदै आएका थिए।

इतिहास हेर्दा, तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा खेलकुद पूर्वाधार निर्माणका लागि अधिग्रहण गरिएको थियो। २०४२ सालमा निर्माण सम्पन्न भएको उक्त रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए।

करिब डेढ दशक अघिसम्म यहाँ राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएका थिए। तर मर्मत सम्भारको अभावका कारण पछिल्ला वर्षहरूमा रंगशाला प्रयोगविहीन बन्दै गएको थियो। अब पुनर्निर्माणसँगै यहाँ पुनः खेलकुद गतिविधि सञ्चालन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM