वीरगञ्ज । नेपाल डेन्टल एसोसिएसन वीरगञ्जको आयोजनामा विश्व मुख स्वास्थ्य दिवसका अवसरमा शुक्रबार वीरगञ्जमा जनचेतनामूलक र्याली सम्पन्न गरिएको छ।
‘स्वस्थ मुख, सुखी जीवन’ नारासहित आयोजना गरिएको उक्त र्याली वीरगञ्ज नगर परिक्रमा गर्दै घण्टाघरस्थित कोणसभामा परिणत भएको थियो।
Calligraphy सहभागीहरूले दन्त स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले विभिन्न सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरेका थिए। दन्त रोग विशेषज्ञ डा. विकास पटेल ले यस्ता गतिविधिले समुदायमा दन्त स्वास्थ्यबारे सचेतना बढाउन सहयोग पुग्ने बताएका छन्।
यसैबीच, विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमसहित यो दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठन तथा दन्त विशेषज्ञहरूले नियमित रूपमा दाँत सफा गर्ने, समय–समयमा दन्त परीक्षण गराउने र अत्यधिक चिनी तथा प्रशोधित खाद्य पदार्थबाट टाढा रहन सुझाव दिएका छन्। उनीहरूले स्वस्थ मुख नै स्वस्थ जीवनको आधार भएको बताएका छन्।
विश्व दन्त महासङ्घ को आह्वानमा विभिन्न देशमा दन्त स्वास्थ्य शिविर, कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। सन् २०१३ देखि मनाउन थालिएको यो दिवसले समुदायमा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।








