२०८२ चैत्र ७ गते शनिबार

सूर्य मन्दिर समिति, रक्सौलको नयाँ कार्यकारिणी गठन, शम्भु प्रसाद चौरसिया पुनः सचिव मनोनीत

 

सूर्य मन्दिर समिति, रक्सौलको नयाँ कार्यकारिणी गठन गरिएको छ। आज शनिबार पदेन अध्यक्ष तथा स्थानीय विधायक प्रमोद कुमार सिन्हाको अध्यक्षतामा हरैया स्थित उहाँकै निवासमा सम्पन्न विशेष बैठकले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको हो।बैठकले तत्काल प्रभावबाट पुरानो कार्यकारिणी भंग गर्दै नयाँ कार्यकारिणी गठन गरेको जनाएको छ। पदेन अध्यक्षका रूपमा विधायक प्रमोद कुमार सिन्हा रहनेछन्। त्यसैगरी सचिवमा शम्भु प्रसाद चौरसियालाई पुनः मनोनयन गरिएको छ भने कोषाध्यक्षमा गणेश धनोठिया, मिडिया प्रभारीमा रजनीश प्रियदर्शी, मिडिया प्रतिनिधिमा पप्पु गोस्वामी तथा कार्यालय प्रभारीमा अनिल कुमारलाई प्रस्ताव गरिएको थियो, जसलाई उपस्थित सदस्यहरूले ध्वनिमतबाट अनुमोदन गरेका थिए।

संरक्षक मण्डलमा अनुमण्डल पदाधिकारी, अनुमण्डल प्रहरी पदाधिकारी, रक्सौल थानाध्यक्ष तथा रिपूराज मिल एग्रो प्रा.लि.का निर्देशक रामेश्वर प्रसाद गुप्तालाई यथावत राखिएको छ।बैठकमा रक्सौलस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र सूर्य मन्दिरको जीर्णोद्धार तथा सौन्दर्यीकरणका लागि विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गरिएको छ। साथै मन्दिर परिसरमा रहेका सवै शेड पसलहरूको भाडा नवीकरणका लागि आगामी १ अप्रिल २०२६ देखि नयाँ सम्झौता लागू गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरिएको छ, जसलाई व्यवसायीहरूले स्वागत गरेका छन्।

कार्यकारिणी सदस्यहरूमा राकेश कुशवाहा, प्रेमचन्द्र कुशवाहा, सुरेश कुमार, राजु कुमार गुप्ता, पवन किशोर कुशवाहा, दिनेश धानोठिया, दीपक कुमार गुप्ता, पंकज वर्णवाल, पुण्यदेव चौरसिया, विनोद कुमार गुप्ता, कन्हैया सर्राफ, मंटु गुप्ता, आनन्द रुंगटा, अरुण कुमार गुप्ता, रवि गुप्ता, कमलेश कुमार, विजय कुमार महतो तथा गुड्डु खेतानलाई समावेश गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै विधायक सिन्हाले नवनियुक्त कार्यसमितिका सबै सदस्यलाई बधाई दिँदै जिम्मेवारी निष्ठा र पारदर्शितासहित पूरा गर्न आग्रह गरे। उनले सूर्य मन्दिर जनआस्थाको केन्द्र भएकाले यसको विकासमा कुनै कमी हुन नदिनुपर्ने बताए।

साथै उनले आगामी नवरात्र तथा चैती छठ पर्वलाई लक्षित गरी छठव्रतीहरूको सुविधाका लागि भव्य तोरणद्वार, पण्डाल तथा आकर्षक विद्युत सजावट गर्ने योजना रहेको जानकारी दिए। दीर्घकालीन विकासका लागि ठोस योजना बनाई मन्दिरको जीर्णोद्धार तथा सौन्दर्यीकरण कार्यलाई तीव्रता दिइने विश्वास समेत व्यक्त गरे।यस सम्बन्धी जानकारी समिति का मिडिया प्रभारी रजनीश प्रियदर्शीले दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM