२०८२ चैत्र १७ गते मंगलवार

पर्सा प्रशासनमा सेवाग्राहीको सास्ती घटाउन सांसदहरूको चासो, ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी

 

जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरूले भोग्दै आएका झन्झट र प्रशासनिक अड्चन हटाउन नवनिर्वाचित सांसदहरूले सक्रिय चासो देखाएका छन्। पर्सा–१ का सांसद हरि पन्त र पर्सा–२ का सांसद सुशील साह कानु संयुक्त रूपमा कार्यालय पुगेर अनुगमन गर्दै सेवा प्रवाहबारे विस्तृत जानकारी लिएका हुन्।

अनुगमनका क्रममा सांसदद्वयले सेवा लिन आएका सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरे। सेवाग्राहीहरूले एउटै फाइलमा ‘तोक’ लगाउन र स्वीकृति लिन विभिन्न कोठा धाउनुपर्ने, साना कामका लागि पनि घन्टौँ कुर्नुपर्ने तथा प्रशासनिक प्रक्रिया अत्यन्त झन्झटिलो रहेको गुनासो गरेका थिए।

त्यसपछि सांसदहरूले प्रमुख जिल्ला अधिकारी भोलादाहालसँग भेटेर सेवा प्रवाह सुधारका उपायबारे छलफल गरेका थिए। छलफलका क्रममा प्रजिअ दाहालले सेवालाई प्रविधिमैत्री र सरलीकृत बनाउन चालिएका कदमबारे जानकारी दिँदै कार्यालयको कार्यसम्पादन चुस्त बनाउने र बिचौलियामुक्त सेवा सुनिश्चित गर्न ‘एकद्वार प्रणाली’ लागू गर्ने योजना अघि सारिएको बताए।

सांसद पन्त र साहले सरकारी अड्डामा जनताले सास्ती पाउनु लोकतन्त्रकै उपहास भएको उल्लेख गर्दै सेवा सहज, छिटो र सम्मानजनक बनाउनुपर्नेमा जोड दिए। उनीहरूले प्रजिअले थालेका सुधारका प्रयासहरूले जनअपेक्षा पूरा गर्ने र समयको बचत हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM