वीरगंजमा आगामी २१ गते शनिबार हनुमान जन्मोत्सवको पावन अवसर पारेर एक विशाल र ऐतिहासिक ‘बृहत शोभा यात्रा’ आयोजना हुने भएको छ। “मम दिक्षा हिन्दू रक्षा : मम मन्त्र समानता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस धार्मिक अनुष्ठानले नगरको सांस्कृतिक र आध्यात्मिक गरिमालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। विश्व हिन्दू परिषद्को मुख्य अगुवाईमा हुन लागेको यस कार्यक्रमको स्वरूप यसपटक निकै व्यापक बनाइएको छ, जहाँ वीरगंजका टोल-टोलबाट शोभा यात्राहरू निस्किएर घण्टाघरमा एकत्रित हुनेछन् र त्यसपछि मात्र सामूहिक रूपमा नगर परिक्रमा सुरु हुनेछ।
यसै तयारीको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर ६ बाट निकालिने र्यालीको मुख्य नेतृत्व र सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी श्री गहवामाई तिर्थ क्षेत्र विकास समितिले लिएको छ। माईस्थानस्थित ऐतिहासिक गहवामाई मन्दिर परिसरबाट गाजाबाजा र भव्य झाँकीका साथ निस्कने यस र्यालीलाई व्यवस्थित बनाउन युवा नेतृत्व ओशन गुप्तालाई वडा नम्बर ६ को संयोजकको जिम्मेवारी सुम्पिएको छ। उहाँको नेतृत्वमा वडाका सम्पूर्ण हिन्दू संगठनहरू एकजुट भएर यो धार्मिक उत्सवलाई सफल बनाउन अहोरात्र खटिएका छन्।
स्थानीय प्रबुद्ध व्यक्तित्व डा. पुरुषोतम दुबेका अनुसार यसपटकको शोभा यात्रामा समाजका हरेक तप्काको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। विशेष गरी नगरका बुद्धिजीवी, जुझारु युवा शक्ति र मातृशक्तिको ठूलो र सक्रिय उपस्थिति रहने गरी तयारी मिलाइएको छ, जसले वीरगंजको धार्मिक सहिष्णुता र एकतालाई अझ मजबुत बनाउने उहाँको विश्वास छ।
यसैबीच श्री गहवामाई तिर्थ क्षेत्र विकास समितिका सचिव श्री
लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ताले) प्रेस विज्ञप्ति जारी गर्दै आगामी २१ गते शनिबार दिउँसो १ बजेभन्दा अगावै माईस्थान क्षेत्रमा उपस्थित भई शोभा यात्रामा सहभागी भइदिनुहुन सम्पूर्ण नगरवासी र श्रद्धालु भक्तजनहरूमा हार्दिक अपिल गर्नुभएको छ। वीरगंजका सडकहरूमा भव्य झाँकी, भजन र जय श्रीरामको गुञ्जनका साथ निस्कने यो यात्रालाई ऐतिहासिक रूपमा सम्पन्न गर्न सुरक्षा र स्वयंसेवकहरूको व्यवस्थापन समेत पुरा भइसकेको छ।








