२०८२ चैत्र २० गते शुक्रबार

विवादको घेरामा मधेश विश्वविद्यालय: यौन दुर्व्यवहारदेखि अनियमिततासम्मका घटनाले उठाए गम्भीर प्रश्न

मधेश प्रदेशमा शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित हुनुपर्ने मधेश विश्वविद्यालय पछिल्लो समय एकपछि अर्को विवादमा मुछिँदै गएको छ। हालै सार्वजनिक भएका विभिन्न गम्भीर प्रकरणहरूले विश्वविद्यालयको छवि मात्र होइन, समग्र शैक्षिक वातावरणमाथि नै गम्भीर प्रश्न खडा गरेका छन्।

सबैभन्दा चर्चित प्रकरणमा विश्वविद्यालयमा कार्यरत कर्मचारी राजु गद्दी लाई एक छात्रामाथि यौन दुर्व्यवहार तथा अनैतिक दबाब सिर्जना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित छात्राले दिएको उजुरीअनुसार गद्दीले अनैतिक सम्बन्धका लागि दबाब दिँदै अस्वीकार गरेमा परीक्षामा अंक घटाइदिने र स्वीकारेमा विभिन्न सुविधा उपलब्ध गराइदिने प्रलोभन दिएका थिए। फोन तथा सामाजिक सञ्जालमार्फत निरन्तर अनुपयुक्त सन्देश पठाई मानसिक दबाब सिर्जना गरिएको पनि उजुरीमा उल्लेख छ।

चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्सा मा उजुरी परेपछि फरार रहेका गद्दीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता हरि बहादुर बस्नेत का अनुसार घटनाबारे थप अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको छ। यस घटनामा अन्य छात्राहरू पनि पीडित हुन सक्ने आशंका गरिएको छ। साथै, गद्दी मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी का भतिजो रहेको तथ्य बाहिरिएपछि प्रकरणले राजनीतिक आयाम समेत लिएको छ।
यसैबीच, विश्वविद्यालयका रजिष्ट्रार विजय यादव सँग सम्बन्धित अर्को विवादले पनि संस्थालाई थप बदनाम बनाएको छ। यादव र एक युवतीबीचको अन्तरंग सम्बन्धका फोटो तथा भिडियोहरू सार्वजनिक भएपछि विश्वविद्यालयभित्र हलचल मच्चिएको थियो। विवाहित रहेका यादवको यस्तो सम्बन्ध सार्वजनिक हुनु नैतिकताको दृष्टिले गम्भीर विषय बनेको छ।

सार्वजनिक सामग्रीहरूमा यादव र ती युवती विभिन्न स्थानमा सँगै घुमफिर तथा घनिष्ठ अवस्थामा देखिएको दाबी गरिएको छ। साथै, ती युवतीले यादवकी श्रीमतीसँग सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश आदानप्रदान गरेको प्रमाणसमेत बाहिरिएको बताइएको छ। यस घटनाले विश्वविद्यालय प्रशासनको नैतिकता र अनुशासनमाथि प्रश्न उठाएको छ।

त्यसैगरी, केही महिनाअघि विश्वविद्यालयकै स्कोर्पियो गाडीका चालकले रातिको समयमा मदिरा सेवन गरी गाडी चलाउँदा परिसरभित्रै बाउन्ड्री वालमा ठोकिएको घटना पनि सार्वजनिक भएको थियो। यस घटनाले संस्थाभित्रको अनुशासनहीनता र निगरानीको अभाव स्पष्ट पारेको छ।
उपकुलपति दीपक शाक्य को सिफारिसमा यादवलाई रजिष्ट्रार नियुक्त गरिएको चर्चा चलिरहेका बेला विश्वविद्यालयभित्र नियुक्ति प्रक्रिया, पारदर्शिता र सुशासनमाथि समेत गम्भीर आरोपहरू लागिरहेका छन्। स्रोतहरूका अनुसार उच्च पदस्थ अधिकारीहरूको मिलेमतोमा नियुक्ति, अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको छ भने करारमा कार्यरत कर्मचारीहरू जागिर गुम्ने डरले मौन बस्न बाध्य भएका छन्।

यी सबै घटनाहरूले मधेश विश्वविद्यालय केवल शैक्षिक संस्था नभई विवाद, अनियमितता र नैतिक विचलनको केन्द्र बन्दै गएको संकेत गरेका छन्। विद्यार्थीहरूको सुरक्षा, अधिकार र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा यस्ता घटनाहरू दोहोरिनु गम्भीर चिन्ताको विषय बनेको  छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले विश्वविद्यालयभित्र कडा निगरानी, पारदर्शी प्रशासन र दोषीमाथि कडा कारबाहीको माग गर्न थालेका छन्। अन्यथा, यस्ता घटनाहरूले शिक्षा क्षेत्रप्रतिको विश्वास अझ कमजोर बनाउने निश्चित देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM