पर्सा स्थित जगरनाथपुर गाउँपालिका–६, आवराहास्थित धर्मशालामा बिहीबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ। रोटरी क्लब हेटौंडाको आयोजना तथा सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा युवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा प्रमुख अतिथिको रूपमा रास्वपाका मधेश प्रदेश संगठन विभाग प्रमुख प्रमोद सहनीको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा रास्वपा मधेश प्रदेश शिक्षा विभाग प्रमुख सेनालाल पटेल, समाजसेवी सुशील चौरसिया, रोटरी क्लब हेटौंडाका अध्यक्ष प्रमेश प्रधान, कोषाध्यक्ष विकास श्रेष्ठ, नेत्र अधिकृत पूर्णिमा गुरुङ, वरिष्ठ नेत्र सहायक चन्द्रकान्ता चौधरी, आई हेल्थ वर्कर जनक अवस्थी र शर्मिला बज्रगाईं लगायत सहभागी थिए। साथै ठाकुर प्रसाद चौधरी, प्रेमचन्द चौधरी सहित स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा कुल १२९ जनाको आँखा परीक्षण गरिएकोमा २९ जनामा मोतियाबिन्दुको लक्षण देखिएको आयोजकले जानकारी दिएका छन्। तीमध्ये ३६ जनालाई निशुल्क औषधि (आँखा ड्रप) वितरण गरिएको थियो।
मोतियाबिन्दु देखिएका २९ जना बिरामीलाई शुक्रबार हेटौंडा लगेर शनिबार शल्यक्रिया गरिने र आइतबार पुनः गाउँमै फर्काइने कार्यक्रम रहेको अध्यक्ष चौधरीले जानकारी दिए।शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रोटरी क्लब परिवारप्रति अध्यक्ष चौधरीले धन्यवाद व्यक्त गरेका छन्।








