बीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल (NMCTH) द्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम कलेजद्वारा सञ्चालन भइरहेको स्पोर्ट्स वीक २०८२ अन्तर्गत आयोजना गरिएको हो।
स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस म्याराथनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बिहान ६:३० बजेदेखि सुरु भएको कार्यक्रम ७:०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो, जसले बिहानैदेखि सहभागीहरूमा उत्साह र ऊर्जा थपेको देखिन्थ्यो।
कार्यक्रम कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल (APF) १३ गणका एसपी श्री मोहन बहादुर क्षेत्री उपस्थित रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिहरूमा वीरगंज आर्मी ब्यारेक प्रमुख लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रमुख तथा पर्सा खेलकुद विकास समितिका रेफ्री विशेश्वर पटेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई थप गरिमा प्रदान गर्दै एडमिशन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर श्री अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी लगायतका व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। साथै, मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति देखिएको थियो।
म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेश्वर पटेलद्वारा वार्मअप तथा आवश्यक सुरक्षा निर्देशन प्रदान गरिएको थियो। सहभागीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै एस्कर्ट टोली, ट्राफिक व्यवस्थापन र एम्बुलेन्स सेवा (चलायमान तथा स्ट्यान्डबाइ) को प्रभावकारी व्यवस्था गरिएको थियो। मार्गका विभिन्न स्थानहरूमा सहायता केन्द्र स्थापना गरी सहभागीहरूलाई प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग उपलब्ध गराइएको थियो।
कार्यक्रमको समापन NMCTH परिसरअन्तर्गत गोलम्बर नं. २ (बास्केटबल कोर्ट) मा गरिएको थियो, जहाँ पदक वितरण समारोहसमेत आयोजना गरियो। प्रतियोगिताको नतिजाअनुसार पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय र सन्जु सिंह बस्नेत तृतीय भएका छन्। महिलातर्फ बिपना प्रथम, अलिशा खातिन द्वितीय र करुणा तृतीय स्थानमा रहिन्।
त्यसैगरी, फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय र डा. आदित्य राज तृतीय भए भने स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय द्वितीय र धनञ्जय मण्डल तृतीय स्थान हासिल गर्न सफल भए।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले यस्ता कार्यक्रममार्फत स्वास्थ्यप्रति जनचेतना फैलाउने, सामुदायिक सहभागिता अभिवृद्धि गर्ने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ। यस किसिमका गतिविधिले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।







