२०८३ बैशाख २ गते बुधबार

निलम्बन फुकुवा पछि किशोरी रायको पुनरागमन, हरि खेतान बहुमुखी क्याम्पसमा नयाँ युगको सुरुवात

 

हरि खेतान बहुमुखी क्याम्पस, वीरगञ्ज पर्सामा क्याम्पस प्रमुख पदमा किशोरी रायको पुनरागमनसँगै क्याम्पसमा नयाँ उत्साह र सकारात्मक वातावरण सिर्जना भएको छ। निलम्बन फुकुवा भएसँगै उहाँ पुनः प्रमुखको जिम्मेवारी सम्हाल्न फर्किनु भएको हो।

क्याम्पस व्यवस्थापन समितिको मिति २०८२ साल चैत २४ गते बसेको बैठकले यसअघि गरिएको छानबिन प्रक्रिया सम्पन्न भइसकेको ठहर गर्दै उहाँमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। यसअघि मिति २०८२ असोज २९ गतेको निर्णय अनुसार उहाँलाई छानबिनका लागि निलम्बनमा राखिएको थियो।

समितिको निर्णयअनुसार किशोरी रायलाई पुनः क्याम्पस प्रमुखको पदमा रही जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ। सोही निर्णयका आधारमा उहाँले तत्कालै क्याम्पसमा हाजिर भई नियमित कामकाज सुरु गर्नुभएको जनाइएको छ।

उहाँको पुनरागमनसँगै क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः पुरानो लयमा फर्किने विश्वास गरिएको छ। लामो समयपछि नेतृत्व स्थिर बनेसँगै विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ।

किशोरी रायको पुनः आगमनप्रति विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन्। उनीहरूले क्याम्पसको शैक्षिक गुणस्तर र अनुशासन अझ सुदृढ हुने अपेक्षा राखेका छन्।

यस घटनालाई क्याम्पसको लागि “नयाँ युगको नयाँ सुरुवात” का रूपमा हेरिएको छ, जहाँ स्थायित्व र विकासतर्फ पुनः अग्रसर हुने संकेत देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM