२०८३ बैशाख १ गते मंगलवार

डा. दुबेले सामाजिक सञ्जालमार्फत महान गायिका आशा भोसलेको निधनप्रति गहिरो शोक व्यक्त

संगीत जगतकी अमर स्वर–साधिका, सुरकी महारानी आशा भोसलेको निधनप्रति बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष ज्योतिष सम्राट डा. पुरुषोतम दुबेले आफ्नो सामाजिक सञ्जालमार्फत गहिरो शोक व्यक्त गर्नुभएको छ। उहाँले यस दुःखद घटनालाई केवल एक महान कलाकारको निधन मात्र नभई सम्पूर्ण संगीत युगकै अपूरणीय क्षति भएको बताउनुभएको छ।

डा. दुबेले आफ्नो शोक सन्देशमा लता मंगेशकरपछि आशा भोसलेको यसरी विदाइ हुनु संगीत क्षेत्रका लागि मात्र होइन, वर्तमान युगकै लागि पनि अत्यन्त पीडादायक क्षण भएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, “यो त्यस्तो क्षति हो जसको पूर्ति सम्भव छैन। उहाँको स्वरले पुस्ता–पुस्तालाई जोड्यो, भावनालाई अभिव्यक्ति दियो र सांस्कृतिक चेतनालाई नयाँ उचाइमा पुर्‍यायो।”

उहाँले आशा भोसलेको संगीत केवल मनोरञ्जन नभई एक साधना भएको उल्लेख गर्दै शास्त्रीय, फिल्मी, गजल, भजन तथा लोक संगीत सबै क्षेत्रमा उहाँको गायनले अमिट छाप छोडेको बताउनुभयो। प्रेम, करुणा, उल्लास र भक्तिजस्ता जीवनका सबै भाव उहाँका गीतहरूमा जीवन्त रूपमा व्यक्त भएको उहाँको भनाइ थियो।

शोक सन्देशको अन्त्यमा डा. दुबेले भोलेनाथसँग प्रार्थना गर्दै भन्नुभयो—
“यस असह्य दुःखको घडीमा भोलेनाथले दिवङ्गत पुण्यात्मालाई चिरशान्ति प्रदान गरून् र शोकसन्तप्त परिवार तथा असंख्य प्रशंसकहरूलाई यो पीडा सहन सक्ने शक्ति प्रदान गरून्।”

आशा भोसलेको निधन संगीत इतिहासमा एक स्वर्णिम अध्यायको समाप्तिका रूपमा सधैँ स्मरणीय रहनेछ। उहाँको अमर स्वर र संगीत विरासत युगौँ–युगसम्म जीवित रहनेछ।

ॐ नमः शिवाय।
भावपूर्ण श्रद्धाञ्जली। शान्ति।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM