वीरगञ्ज महानगरपालिका–पानीट्यांकीस्थित डायमण्ड पार्टी प्यालेसमा एस.ई.ई. ब्याच–२०८२ का विद्यार्थीहरूको भव्य विदाइ कार्यक्रम (Grand Adieu – Farewell Program) आइतबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कञ्चनजंघा स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाइ गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य हरि पन्तले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षा नै जीवन परिवर्तनको मुख्य आधार भएको उल्लेख गरे। उनले अनुशासन, मेहनत र लक्ष्यप्रति समर्पणका साथ अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गर्दै भने,
“आजको विदाइ अन्त्य होइन, नयाँ यात्राको सुरुवात हो। तपाईँहरू जहाँ गए पनि आफ्नो विद्यालय, समाज र देशको नाम उज्ज्वल बनाउने गरी अघि बढ्नुस्।”
कार्यक्रम कञ्चनजंघा स्कुलका प्रधानाध्यापक बसन्त बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो।
अध्यक्ष बुढाथोकीले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा विद्यालयले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्दै कक्षा १० का विद्यार्थीहरूलाई सफलताको कामना गरे।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईं, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, विद्यालयका निर्देशक मार्टिन मोक्तान, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, विजय बल लगायत विशिष्ट व्यक्तित्वहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले आकर्षक र्याम्प वाक, गीत–संगीत, नृत्य तथा नाटक प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। विविध सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ जीवन्त र स्मरणीय बनाएको थियो।
विदाइ कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले विद्यालयमा बिताएका मधुर सम्झनाहरू साटासाट गर्दै भावुक बनेका थिए। साथै उनीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभेच्छा व्यक्त गरिएको थियो। कार्यक्रमले विद्यार्थीहरूबीच आपसी सद्भाव, सम्मान र सम्झनालाई अझ मजबुत बनाउँदै सम्पन्न भएको आयोजकले जनाएको छ।








