संयुक्त राष्ट्रसंघको सार्वजनिक प्रशासनसम्बन्धी विज्ञहरूको समिति (CEPA) को २५औं सत्र आज संयुक्त राष्ट्र मुख्यालयमा सुरु भएको छ। यस सत्रमा विश्वभरका सुशासन विज्ञ, नीतिनिर्माता तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी भई सार्वजनिक संस्थाहरूलाई सुदृढ बनाउने र जनविश्वास पुनःस्थापित गर्ने विषयमा छलफल गरिरहेका छन्।
सार्क जर्नालिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा पनि न्युयोर्कमा आयोजित उक्त उच्चस्तरीय सत्रमा सहभागी भई सुशासन, पारदर्शिता तथा संस्थागत विकाससम्बन्धी वैश्विक बहसमा सहभागिता जनाएका छन्।
CEPA सत्रमा सार्वजनिक प्रशासन प्रणाली सुधार, उत्तरदायित्व अभिवृद्धि तथा दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न बहुपक्षीय सहकार्य र नवीन शासन अभ्यासलाई तीव्र बनाउने विषयमा केन्द्रित छलफल भइरहेको छ।
बैठकमा सहभागी विज्ञहरूले समावेशी नीतिनिर्माण, डिजिटल रूपान्तरण र सरकार तथा नागरिकबीच विश्वास अभिवृद्धि आजको विश्वका प्रमुख प्राथमिकता रहेकोमा जोड दिएका छन्।
उक्त सत्र साताभर विभिन्न विषयगत प्यानल र नीतिगत छलफलसहित सञ्चालन हुने बताइएको छ, जसले सदस्य राष्ट्रहरूलाई शासन प्रणाली सुदृढ गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।








