सखुवा प्रसौनी गाउँपालिका–५ महुवनको दक्षिणपट्टि रहेको सुकुम्बासी दलित बस्तीमा गएराति करिब १ बजे अचानक आगलागी हुँदा ३ परिवार गम्भीर रूपमा प्रभावित भएका छन्। आगलागीबाट संजय राम, मन्जय राम र मन्तुरा देवी भगतिनको घर पूर्ण रूपमा जलेर खरानी भएको छ।
आगोले उनीहरूको फुसको झुप्रो पूर्ण रूपमा नष्ट गर्नुका साथै घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्न लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। पीडित परिवारहरूले केही पनि जोगाउन नसकेको अवस्था रहेको स्थानीयले बताएका छन्।
यस विपत्तिको घडीमा युवा नेता बृजेश्वर प्रसाद चौघरीको पहलमा एक जना नाम नखुलाउने सहयोगीले पीडित प्रत्येक परिवारलाई राहत सामग्री उपलब्ध गराएका छन्। राहत स्वरूप प्रति परिवार १ बोरा चामल, १ बोरा आटा, १ बोरा आलु, १ प्याकेट प्याजका साथै दाल, मसला, नुन, खाने तेल, चना, मटर र साबुन लगायतका अत्यावश्यक सामग्री वितरण गरिएको हो।
यस सहयोग कार्यमा समन्वय गर्ने अभियन्ता मनोज रामको भूमिका प्रशंसनीय रहेको स्थानीयवासीले बताएका छन्।हाल पीडित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् र उनीहरूलाई थप राहत तथा सहयोगको खाँचो रहेको छ। यस कठिन परिस्थितिमा सबैलाई सक्दो सहयोग गर्न अपिल गरिएको छ।








