भारतसँग खुला सीमा जोडिएको मुख्य प्रवेश नाका वीरगञ्जमा बिहीबारदेखि सुरक्षा व्यवस्था कडा बनाइएको छ। विदेशी नागरिकको सम्भावित अवैध घुसपैठ रोक्ने उद्देश्यले सुरक्षाकर्मीहरूले निगरानी बढाउँदै चेकजाँचलाई कडाइ गरेका हुन्।
भारतबाट नेपाल प्रवेश गर्ने प्रमुख नाका वीरगञ्जस्थित शंकराचार्य प्रवेशद्वारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अध्यागमन कार्यालयका कर्मचारी सम्मिलित संयुक्त टोली खटाइएको छ। उक्त टोलीले नाकामै विदेशी यात्रुहरूको यात्रा कागजात (पासपोर्ट/भिसा) जाँच गर्ने, सम्पर्क नम्बर सहितको विस्तृत विवरण संकलन गर्ने र अभिलेख राख्ने कार्य गरिरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले जानकारी दिए।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राष्ट्रिय सुरक्षा र शान्ति सुव्यवस्था सुदृढ बनाउन यस्तो विशेष निगरानी सुरु गरिएको हो। सीमाबाट हुने सम्भावित अवैध गतिविधि नियन्त्रण तथा सुरक्षा मजबुत बनाउने लक्ष्य राखिएको प्रशासनले जनाएको छ।
यससँगै जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती क्षेत्रका बासिन्दालाई सचेत रहन अपिल गरेको छ। कुनै विदेशी नागरिक शंकास्पद रूपमा गाउँ–टोल वा होटल/लजमा बसोबास गरेको पाइएमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। साथै, सीमा क्षेत्रमा हुने अवैध आवागमन वा गतिविधिबारे जानकारी पाएमा ढुक्कसँग प्रशासनलाई सूचित गर्न समेत अनुरोध गरिएको छ।
उल्लेखनीय छ कि बुधबार मात्रै विश्व हिन्दू परिषद् नेपालले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’लाई लक्षित गर्दै बंगलादेश र म्यानमारका रोहिङ्ग्या नागरिकहरू अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने सम्भावना औंल्याउँदै सीमा नाकामा कडाइ गर्न माग गरेको थियो। सोही सन्दर्भलाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको हो।








