२०८३ बैशाख ४ गते शुक्रबार

एक तोला सुनको मूल्य झन्डै दुई लाख

 

 

अभिलाष गुप्ता
बैशाख ०९ बिरगंज

 

सुनको मूल्य आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको नयाँ रेकर्ड कायम गरेको छ ।विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो ।सुनको मूल्य आज प्रतितोला ६ हजार पाँच सय रुपैयाँ बढेर एक लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सोमबार सुन तोलामा १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको थियो ।चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो । गएको मङ्सिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यति बेला सरकारले भन्सार दर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM