वीरगन्जस्थित नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्सेसमा मानव अधिकार शिक्षा (HRE) कार्यक्रम सम्पन्न भएको छ। एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–१६, वीरगन्जको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–१६, वीरगन्जका अध्यक्ष रजनीश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार, मानव अधिकारको महत्व तथा दैनिक जीवनमा मानव अधिकारको संरक्षण र प्रवर्द्धनका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षण अध्यक्ष झाले नै दिएका थिए।
कार्यक्रममा सहभागीहरूलाई मानव अधिकारका आधारभूत अवधारणा, मानव अधिकारको संरक्षणमा व्यक्ति तथा समुदायको भूमिका, अधिकारप्रतिको सचेतना तथा मानव अधिकारसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। विशेषगरी स्वास्थ्य तथा नर्सिङ क्षेत्रसँग सम्बन्धित विद्यार्थीहरूलाई मानव अधिकारका विषयमा सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालको तर्फबाट बोर्ड सदस्य सुरेश पारिक, रञ्जित चौधरी तथा कोषाध्यक्ष ममता यादवको सहभागिता रहेको थियो। उनीहरूले मानव अधिकार शिक्षा र यसको सामाजिक महत्वबारे सहभागीहरूसँग विचार आदानप्रदान गरेका थिए।
कार्यक्रममा कलेजका विद्यार्थी तथा अन्य सहभागी गरी कुल ४० जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ३९ जना महिला र १ जना पुरुष रहेका थिए।
कार्यक्रमका सहभागीहरूले मानव अधिकारसम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान प्राप्त हुनुका साथै समाजमा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि आफ्नो भूमिका महत्वपूर्ण हुने विषयमा जानकारी प्राप्त गरेका थिए।
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–१६ ले आगामी दिनमा पनि मानव अधिकारसम्बन्धी शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
























