२०८३ बैशाख २८ गते सोमबार

सनातन हिन्दु समाज द्वारा जम्मु कश्मीर हमलाका मृतक प्रति श्रद्धाञ्जली अर्पण

 

अभिलाष गुप्ता
बैशाख १० बिरगंज

 

भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति वीरगञ्जमा सनातन हिन्दु समाजले श्रद्धाञ्जली अर्पण गरेको छ ।बुधवार वीरगञ्जको गहवामाई मन्दिर परिसरको पार्कमा आयोजित एक विशेष श्रद्धाञ्जली सभामा विभिन्न हिन्दुवादी संघ–सङ्गठनका अगुवा र प्रतिनिधिहरूले हमलामा मृत्यु भएकाहरूप्रति समवेदना प्रकट गर्दै आतङ्कवादीहरूको निन्दा गरेका हुन् ।

सनातन हिन्दु समाजले आयोजना गरेको कार्यक्रमको मुख्य उद्देश्य मङ्गलवार जम्मु कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगामको बैसरन घाटीमा भएको बर्बर आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु थियो ।

‘मिनी स्विट्जरलैंड’ को रूपमा विश्व प्रसिद्ध पहलगाममा भएको उक्त हमलामा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये सुदीपकी आमा पनि रहेकी छन् ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै राष्ट्रिय समता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादले आतङ्कवादीहरूले हिन्दु धर्मका व्यक्तिहरूलाई लक्षित गरी छानीछानी हत्या गरेको गम्भीर आरोप लगाए । उनले भने, घुमघामको उद्देश्यले पहलगाम पुगेका निर्दोष हिन्दु पर्यटकहरूलाई इस्लामिक आतङ्कवादीहरूले हिन्दु भएको कारण मात्र हत्या गरे । यो अत्यन्त निन्दनीय र अमानवीय कार्य हो ।उनले आतङ्कवादीहरूलाई कुनै पनि हालतमा कारबाही गर्नुपर्ने माग गरे । व्यक्त गर्दै उनकी घाइते आमाको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले यस्ता हमलाहरूले हिन्दु समुदायमाथि आक्रमणको शृङ्खला बढिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

सनातन हिन्दु समाजले हमलालाई हिन्दु समुदायमाथिको सुनियोजित आक्रमणको रूपमा लिएको छ । समाजले यस्ता आतङ्कवादी गतिविधिको कडा निन्दा गर्दै भारत सरकारसँग दोषीहरूलाई कठोर कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा सुरक्षा व्यवस्था गर्न माग गरेको छ । साथै, समाजले नेपाल सरकारसँग पनि मृतक नेपाली नागरिकको परिवारलाई उचित राहत र घाइतेको उपचारमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM