२०८३ असार १ गते सोमबार

चिकित्सक हडतालका कारण वीरगञ्जको नारायणी अस्पतालमा सेवा ठप्प सेवाग्राही मारमा

 

अभिलाष गुप्ता
वीरगञ्ज १२ बैशाख

नेपाल चिकित्सक सङ्घको हडतालका कारण शुक्रवार वीरगञ्जस्थित नारायणी अस्पतालसहित देशभरका सरकारी र निजी अस्पताल, मेडिकल कलेज, क्लिनिक र स्वास्थ्य केन्द्रहरूमा आकस्मिक तथा सघन उपचार सेवाबाहेकका सम्पूर्ण सेवा ठप्प भएका छन् ।हडतालले बिरामी र सेवाग्राहीहरूमा ठूलो मार परेको छ । विशेष गरी वीरगञ्ज, बारा, रौतहट, सर्लाही, पर्सा र छिमेकी देश भारतबाट उपचारका लागि आएका बिरामीहरू उपचार नपाएर समस्यामा परेका छन् ।

हडतालका कारण नारायणी अस्पतालमा नियमित ओपिडी, शल्यक्रिया, ल्याब परीक्षण, रेडियोलोजी, फार्मेसीलगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन् । आकस्मिक कक्षमा समेत जनशक्ति अभावले बिरामीहरूले लामो समय पर्खनुपरेको छ । वीरगञ्जको नारायणी अस्पताल तराई-मधेस क्षेत्रको प्रमुख रेफरल सेन्टर भएकाले यहाँ दैनिक हजारौँ बिरामी उपचारका लागि आउने गर्छन् । हडतालले विशेष गरी न्यून आय भएका र टाढाबाट आएका बिरामीहरू बढी प्रभावित भएका छन् ।

स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार, निजी अस्पताल र क्लिनिकहरूले पनि हडतालमा ऐक्यबद्धता जनाएकाले बिरामीहरूलाई वैकल्पिक उपचारको अवसरसमेत कम भएको छ ।चिकित्सकहरूको मागलाई लिएर विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले चिकित्सकहरूको श्रम शोषण र भत्ताको मुद्दालाई जायज ठहर गरे पनि हडतालको शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नारायणी अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहले हडतालका कारण आकस्मिकबाहेकका सेवाहरू बन्द भएको स्वीकार गरेका छन।

उनका अनुसार नेपाल चिकित्सक सङ्घको माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । तर, हडतालले बिरामी र सेवाग्राहीहरूको स्वास्थ्यमा परेको गम्भीर असरले सरकार र चिकित्सक सङ्घमाथि दबाब बढेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले वार्ताको प्रयास भइरहेको बताए पनि ठोस प्रगति भएको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM