अभिलाष गुप्ता
बैशाख १४ बिरगंज
पर्सा जिल्लाको बिरगंज महानगरपालिका–२३ सबैठ्वा निवासी स्वर्गीय सुरेन्द्र रामकी छोरी कविता रामको विवाह यही बैशाख २४ गते सम्पन्न हुने तय भएको छ। तर कविता रामकी आमा, सबिता देवी, आर्थिक अभावका कारण विवाह खर्च जुटाउन असमर्थ भएकी थिइन्।
यस कठिन परिस्थितिबारे जानकारी पाएपछि उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगीको पहलमा विवाहका लागि आवश्यक सम्पूर्ण सामग्री सहयोग प्रदान गरिएको छ। संस्थाको तर्फबाट चामल ६० किलो, दाल २० किलो, पिठो २० किलो, खाने तेल १० लिटर, चिउरा २० किलो, चिनी १० किलो, आलु ३० किलो, प्याज १५ किलो, जीरा, धनियाँ, खुर्सानी, बेसारलगायत मसला तथा बेहुला–बेहुलीका लागि बिवाहको लुगा २ सेट र बेहुलीकी आमाका लागि समेत लुगा तथा अन्य बिहे सम्बन्धी सामग्रीहरू हस्तान्तरण गरिएको छ।
सामग्रीहरू उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगी र सदस्य पद्मादेवी सरावगीले सबैठ्वा पुगेर बेहुलीकी आमा सबिता देवीलाई प्रदान गरेका हुन्।
स्थानीयहरूले उपकार सेवा नेपालको यस मानवीय कार्यको खुलेर प्रशंसा गरेका छन्।



















