अभिलाष गुप्ता
वीरगञ्ज,१७ बैशाख
मधेश प्रदेशका क्यान्सर पीडितहरूका लागि आशाको किरण बनेको छ वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल। यस अस्पतालमा पहिलोपटक क्यान्सर रोगीहरूको लागि उपचार सेवा सुरु भएको छ, जसअन्तर्गत सोमबारदेखि किमोथेरापी सेवा पनि सञ्चालनमा आएको छ।
संघीय सरकारको स्वास्थ्य नीति अन्तर्गत सबै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने योजनाको क्रममा नारायणी अस्पतालमा अंकोलोजी वार्ड स्थापना गरिएको हो। अंकोलोजी वार्ड शुभारम्भ भएपछि आजदेखि किमोथेरापी सेवा पनि औपचारिक रूपमा सुरु गरिएको हो। प्रारम्भिक चरणमा बाराको निजगढ निवासी एक क्यान्सर पीडितलाई किमोथेरापी दिइएर सेवा शुभारम्भ गरिएको अस्पताल प्रशासनले जनाएको छ।
यो सेवा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो। सेवा शुभारम्भको अवसरमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर उपचार सेवा उद्घाटन गरेका थिए। मन्त्री पौडेलले उद्घाटन समारोहमा बोल्दै क्यान्सर उपचार सेवा राजधानी केन्द्रित नहोस् भन्ने उद्देश्यले प्रत्येक प्रदेशमा गुणस्तरीय सेवा विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताए।
“वीरगञ्जजस्तो महत्वपूर्ण सहरमा क्यान्सर उपचारको सेवा सुरु हुनु आफैंमा ऐतिहासिक उपलब्धि हो,” मन्त्री पौडेलले भने, “अब उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदैछ।”
अस्पतालका प्रमुखका अनुसार, अंकोलोजी वार्डमा आवश्यक प्रारम्भिक पूर्वाधार तयार भइसकेको छ। सेवा विस्तारसँगै र्याडियोथेरापी, सर्जिकल अंकोलोजी तथा पेलिएटिभ केयर जस्ता अन्य सेवा पनि चरणबद्ध रूपमा थपिने योजना रहेको उनले बताए।
यसबाट मधेश प्रदेशका साथै नेपालका दक्षिणी भेगका हजारौं क्यान्सर पीडितहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजले सेवा सुरु हुनुलाई स्वागत गरेका छन्।



















