अभिलाष गुप्ता
बैशाख १९ बिरगंज
अन्तर्राष्ट्रिय योग दिवसको पचास दिन पूर्व सन्दर्भमा गढीमाई नगरपालिकामा एक विशेष योग शिविर सम्पन्न भएको छ। बिरगंजस्थित भारतीय महावाणिज्य दूतावासको आयोजनामा तथा गढीमाई नगरपालिका र पतञ्जलि समिति बाराको सहकार्यमा सम्पन्न उक्त शिविर योग जागरण र नागरिक सुस्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
शिविरमा भारतीय महावाणिज्य दूतावासका पदाधिकारीहरू, गढीमाई नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, पतञ्जलि योग समिति बाराका प्रशिक्षकहरू, स्थानीय समाजसेवी, राजनीतिज्ञ, महिला तथा पुरुष सहभागी, पत्रकारहरू र स्वास्थ्यप्रति जागरूक व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

शिविरमा सहभागीहरूलाई योगका विभिन्न आसन, प्राणायाम, ध्यान र जीवनशैली परिवर्तनका उपायहरूको अभ्यास गराइएको थियो। प्रशिक्षकहरूले योगमार्फत तन, मन र आत्माको सन्तुलन कसरी कायम राख्ने भन्नेबारे जानकारी दिँदै दैनिक जीवनमा योगको महत्वमाथि प्रकाश पारे।
गढीमाई नगरपालिकाका प्रतिनिधिहरूले स्वस्थ समाज निर्माणका लागि यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको बताउँदै स्थानीय तहको सहयोगमा आगामी दिनहरूमा पनि योग कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
भारतीय महावाणिज्य दूतावासका प्रतिनिधिहरूले नेपाल-भारत सम्बन्धलाई जनस्तरसम्म सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी गराए।
योग शिविरले न केवल शारीरिक र मानसिक स्वास्थ्यमा टेवा पुर्याएको छ, तर दुवै देशका नागरिकबीच मित्रता र सहयोग spirit लाई समेत प्रगाढ बनाएको सहभागीहरूको धारणा रहेको छ।



















