अभिलाष गुप्ता
बैशाख २० बिरगंज
सशस्त्र प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ स्थित गढिमाई मन्दिर नजिकैको दसगजा क्षेत्रबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट, महादेवपट्टिबाट नियमित गस्तीमा खटिएको टोलीले शुक्रबार ४३ किलो ८ सय ग्राम अवैध गाँजा फेला पारेको हो। प्रहरी निरीक्षक नरेन्द्र बहादुर बिष्टको नेतृत्वमा गएको टोलीले गाँजा फेला पारेको हो।
सशस्त्र प्रहरीका अनुसार तस्करहरूले गस्ती टोली देखेपछि गाँजाका पोका त्यहीं छाडेर फरार भएका थिए। बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय, सेढवामा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साका प्रवक्ता नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।



















