अभिलाष गुप्ता
बीरगंज, २० बैशाख
बीरगंज महानगरपालिका वडा नं. ५ मा विकास, निर्माण र सौन्दर्यकरणसँग सम्बन्धित विषयहरूमा व्यापक छलफलसहितको बैठक सम्पन्न भएको छ। वडा अध्यक्ष प्रदिप कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न यस बैठकमा हालै वडा समितिबाट सम्मानित र मनोनीत गरिएका २५ जना सल्लाहकार सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

बैठक वडा नं. ५ को बैठक हलमा आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले वडाको समग्र विकास र नागरिक सुविधासँग सम्बन्धित विविध मुद्दाहरूमा राय, सल्लाह र सुझावहरू प्रस्तुत गरे। बैठकको प्रमुख उद्देश्य वडा भित्र भइरहेको तथा भावी योजनाबद्ध विकास निर्माण कार्यहरूमा जनप्रतिनिधि र सल्लाहकारबीच समन्वय, पारदर्शिता र सहभागिता सुनिश्चित गर्नु रहेको थियो।
वडा अध्यक्ष चौरसियाले वडाको विकासमा स्थानीयवासीहरूको सक्रिय सहभागिता र सुझाव अत्यन्त महत्वपूर्ण हुने भन्दै आगामी दिनमा योजना निर्माणदेखि कार्यान्वयनसम्म जनप्रतिनिधि र सल्लाहकारहरूबीच सहकार्य हुने स्पष्ट पारे। उनले भने, “हामी वडालाई सफा, सुन्दर र समुन्नत बनाउन दृढ संकल्पित छौं, र यसका लागि सबैको साझा प्रयास अपरिहार्य छ।”

बैठकमा उपस्थित सल्लाहकार सदस्यहरूले वडाभित्रका सडक, नाला, सार्वजनिक शौचालय, बत्ती, फोहोर व्यवस्थापन, हरियाली विस्तार तथा पार्क निर्माणजस्ता विषयमा आफ्नो दृष्टिकोण राखेका थिए। साथै, केही सदस्यहरूले बालबालिका, महिला, वृद्धवृद्धा तथा अपाङ्गमैत्री पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए।
कार्यक्रमको अन्त्यमा वडा कार्यालयले आगामी योजनाहरूमा सल्लाहकारहरूको संलग्नता बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्यो।




















