अभिलाष गुप्ता
बिरगंज २० बैशाख
समाज कल्याण, सकारात्मक ऊर्जा र सार्वभौमिक शान्तिको कामनाका साथ वीरगञ्जस्थित मानव सेवा आश्रममा विशेष गायत्री पूजा, हवन, मन्त्र तथा प्रसाद कार्यक्रम आयोजना गरिएको छ। “सबैको कल्याण” भन्ने मूल उद्देश्यका साथ गरिएको कार्यक्रममा आध्यात्मिक वातावरण सँगै समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व वीरगञ्जको सबैभन्दा पुरानो महिला संगठन लायन्स क्लब वीरगञ्ज सेंट्रल की अध्यक्ष रेखा बैदले गर्नुभएको थियो। कार्यक्रममा लायन्स क्लबका पूर्वअध्यक्षहरू सीता अग्रवाल, आशा अग्रवाल, कविता हालन, सचिव मीनाक्षी कर्माचार्य, मानव सेवा आश्रमका प्रमुख देवेश गुप्ता, पण्डितज्यू, महिला–पुरुष सेवाग्राही, पत्रकार, समाजसेवी तथा विकासप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

हवन पूजनका दौरान गायत्री मन्त्र जप, शुद्ध वातावरण सृजन, र सामाजिक एकता सुदृढीकरणका सन्देशहरू प्रवाहित गरिएको थियो। सहभागीहरूले सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सद्भाव, प्रेम र सकारात्मकताका लागि सामूहिक प्रार्थना गरेका थिए।
कार्यक्रममा विशेषगरी आश्रमका ‘लक्ष्मीनारायण’हरू अर्थात् सेवाग्राहीहरूलाई सम्मानजनक सहभागिता दिइएको थियो, जसले कार्यक्रमको मानवीय पक्षलाई अझ प्रभावशाली बनाएको देखियो। उपस्थित सबैले प्रसाद ग्रहण गरी धार्मिक तथा सामाजिक भावनाको आदानप्रदान गरेका थिए।
मानव सेवा आश्रम र लायन्स क्लब वीरगञ्ज सेंट्रलको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमले धार्मिक आस्था, सामाजिक सेवा र सामूहिक चेतनाको संयोजनमार्फत उदाहरणीय सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।









