२०८२ मंसिर २६ गते शुक्रबार

नारायणी अस्पतालमा ठेक्का प्रक्रियामा अनियमितता : तत्कालीन मेसुसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

 

अभिलाष गुप्ता
बैशाख २१ वीरगञ्ज

वीरगञ्ज, पर्सा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा आकस्मिक कक्ष निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै सामग्री खरिद तथा प्रविधिको प्रयोगमा अनियमितता गरी करिब १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा हानि पुर्‍याइएको पाइएको हो।

मुद्दामा नाम उल्लेख गरिएका व्यक्तिहरूमा तत्कालीन मेसु सञ्जयकुमार ठाकुर, विभागीय इन्जिनियर याजेन्द्र साह र भानुभक्त अन्सारी, लेखापाल मदनकुमार माजी लगायत अन्य कर्मचारीहरू रहेका छन्। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ।

त्यसैगरी, निर्माण कार्यमा संलग्न नभसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक जगत घिमिरे र लुम्बिनी-मिशन जेभीका प्रतिनिधि विष्णुप्रसाद शर्मालाई झूटो प्राविधिक विवरण पेश गरी ठेक्का सम्झौतामार्फत सरकारी रकम हिनामिना गरेको अभियोगमा कारबाहीको सिफारिस गरिएको छ।

आयोगका अनुसार आकस्मिक कक्ष निर्माणमा प्रयोग हुनुपर्ने M35 ग्रेडको इन्टरलक ब्लकको सट्टा गुणस्तरहीन सामग्री प्रयोग भएको प्रमाणित भएपछि अनुसन्धान अघि बढाइएको हो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM