अभिलाष गुप्ता
बैशाख २१ बिरगंज
बिर्ता तेक्वान्डो डोजाङको आयोजनामा शनिबार एक विशेष कार्यक्रमका बीच बेल्ट ग्रेडिङ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वडा नं.४ का वडाध्यक्ष जगतसाह कानूले गर्दै खेलकूद क्षेत्रको विकासका लागि आफ्नो वडाले सक्दो सहयोग गर्दै आएको जानकारी दिए।
वडाध्यक्ष कानूले तेक्वान्डो खेलाडीहरूका लागि आवश्यक सामग्रीहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सानै उमेरदेखि बालबालिकालाई खेलमा सहभागी गराउन सके भविष्यमा उनीहरूको प्रतिभा निखारिने र खेल क्षेत्रमा उच्च उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे। “नियमित अभ्यासले मात्रै उत्कृष्ट खेलाडी बन्न सकिन्छ,” उनले भने, “पढाइसँगै रुचिअनुसार खेलमा पनि सहभागिता आवश्यक छ।”

कार्यक्रममा ह्वाइट बेल्ट तहका ४५ जना खेलाडीहरूलाई ग्रेडिङ गर्दै यलो बेल्ट प्रदान गरिएको थियो। बेल्ट वितरण समारोहमा सहभागी खेलाडीहरूमा उत्साह देखिएको थियो।
कार्यक्रम बिर्ता तेक्वान्डो डोजाङकी अध्यक्ष रेहाना खातुनको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पर्सा जिल्ला तेक्वान्डो डोजाङ अध्यक्ष गणेशमान सिंह, प्रशिक्षक सञ्जय श्रेष्ठ, बाबुल चौहान, विशेश्वर पटेल, निर्णायक मण्डलका सदस्यहरू राजेन्द्र शाही, मञ्जिल मियाँ, नाजिया सिद्दिकी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले स्थानीय स्तरमा खेलकूदको प्रवर्द्धन र बालबालिकाको सहभागिता वृद्धि गर्न सकारात्मक सन्देश दिएको छ।









