२०८३ असार १ गते सोमबार

मानवसेवा आश्रममा ४८ जना आमाहरुको स्त्री रोग सम्बन्धि स्वास्थ्य परीक्षण सम्पन्न

 

अभिलाष गुप्ता
वीरगञ्ज, वैशाख २२

मानवसेवा आश्रम वीरगञ्ज सेवा केन्द्रमा आश्रित ४८ जना आमाहरुको स्त्री रोग सम्बन्धि स्वास्थ्य परीक्षण तथा आश्रम अवलोकन कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज निवासी वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मञ्जु रायको सक्रिय पहलमा सम्पन्न यो स्वास्थ्य शिविरले वृद्ध आमाहरुलाई समयमै रोग पहिचान तथा परामर्श सेवा प्रदान गरेको छ।

डा. रायले आमाहरुको स्वास्थ्य अवस्था प्रति चिन्ता व्यक्त गर्दै आवश्यकता अनुसार थप उपचार सेवा तथा स्वास्थ्य सुविधामा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। मानवीय भावनाले प्रेरित यस पहलले वृद्ध आमाहरुको स्वास्थ्यमा थप सुधार आउने विश्वास लिइएको छ।

कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्ज शाखाका जिल्ला संयोजक मुना मगरको विशेष उपस्थिति रहेको थियो। उनले डा. मञ्जु रायप्रति विशेष धन्यवाद ज्ञापन गर्दै यस्ता सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने उल्लेख गरिन्।

आश्रम प्रशासनका अनुसार यस्ता स्वास्थ्य जाँच कार्यक्रमहरू भविष्यमा पनि नियमित रुपमा सञ्चालन गरिनेछन्, जसबाट आश्रित आमाहरुले समय समयमा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सकून्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM