अभिलाष गुप्ता
विरगञ्ज,२३ बैशाख
गर्मीको तिव्रता बढ्दै गएको यो समयमा विरगञ्जस्थित बाल सुधार गृहमा बस्ने बालबालिकाका लागि शीतल जल उपलब्ध गराउने उद्देश्यले ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरद्वारा एक सेट कोल्ड वाटर मेसिन जडान गरिएको छ।
उक्त कार्यक्रम ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा रुङटा वेलफेयर सोसाइटी बिरगञ्जका अध्यक्ष सुरेश रुङटा तथा ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका आजीवन सदस्य र पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कोल्ड वाटर मेसिनको स्थापनासँगै बाल सुधार गृहमा बसोबास गरिरहेका बालबालिकाहरूलाई गर्मीको मौसममा स्वच्छ र चिसो पानी सहज रूपमा उपलब्ध हुन थालेको छ। यसले उनीहरूको दैनिक जीवनमा राहत पुर्याउनुका साथै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
अध्यक्ष प्रकाश खेतानले कार्यक्रमका क्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे। “समाजको हरेक तप्कासम्म सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले बाल सुधार गृहमा यो मेसिन जडान गरेका हौं,” उनले भने।
सामाजिक सेवा, समर्पण र सद्भावनाको उदाहरण प्रस्तुत गर्ने यस कार्यले अन्य संस्थाहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।



















