२०८२ पुष १ गते मंगलवार

पारम्परिक कलाको संरक्षणतर्फ एक ऐतिहासिक पाइला : पाटन संग्रहालयमा हिमालयन आर्ट काउन्सिलद्वारा विशेष प्रदर्शनी सम्पन्न

 

अभिलाष गुप्ता
काठमाडौं, जेष्ठ २

 

नेपाली परम्परागत कला र संस्कृति संरक्षणमा क्रियाशील हिमालयन आर्ट काउन्सिल (Himalayan Art Council – HAC) ले थांका र पौभा कलाको संरक्षण, प्रवर्द्धन र प्रविधिमार्फत प्रमाणीकरण गर्न एक ऐतिहासिक प्रदर्शनीको आयोजना गरेको छ।

पाटन संग्रहालयमा बिहीबार अपराह्न तीन बजे उद्घाटन गरिएको उक्त विशेष प्रदर्शनी शुक्रबारसम्म चलेको थियो। प्रदर्शनीमा नेपाली थांका र पौभा कलाका ५० भन्दा बढी मौलिक कलाकृतिहरू प्रस्तुत गरिएको थियो, जसमा पवित्र देवी-देवताहरू, मण्डला संरचना, सांस्कृतिक मिथक र धार्मिक कथा बुनाइ भएका रचनाहरू समावेश थिए।

नेपाली कला संरक्षणको नयाँ युग

यो प्रदर्शनी केवल सौन्दर्यप्रदर्शनमा सीमित नभइ, नेपाली परम्परागत कलाको विश्वसामु प्रस्तुति र संरक्षणको दिगो अभियानको थालनी भएको आयोजक काउन्सिलले बताएको छ।

कलाकार कैलाश के. श्रेष्ठका अनुसार, “यो केवल सौन्दर्य प्रदर्शन नभई, नेपाली कलाकारहरूको सम्पदा जोगाउने र भविष्य पुस्तासम्म सम्झन लायक बनाउने अभियान हो।”

उनले थपे, “थांका र पौभा कलाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक गाथाहरूलाई चित्रमार्फत बोलाउँछन्। आजका युवा पुस्ताले यसलाई चिन्ने, बुझ्ने र संरक्षणमा भूमिका खेल्न जरुरी छ।”

डिजिटल प्रविधिद्वारा प्रमाणीकरण र पारदर्शिता

प्रदर्शनीकै अवसरमा काउन्सिलले ‘नेशनल आर्ट प्रोटेक्सन प्लेटफर्म’ सार्वजनिक गरेको छ। यस डिजिटल पहलले कृत्रिम बुद्धिमत्ता (AI) र ब्लकचेन प्रविधिको प्रयोगमार्फत नेपाली कलाकृतिहरूको प्रमाणीकरण, नक्कली कला रोकथाम, ऐतिहासिक दस्तावेजीकरण र मूल्य निर्धारणमा सहयोग पुर्‍याउनेछ।

यस प्लेटफर्ममार्फत सङ्ग्राहक, कलाकार, अनुसन्धानकर्ता तथा आम सर्वसाधारणले कलाको प्रामाणिकता, ऐतिहासिक पृष्ठभूमि, मूल्यांकन र विश्लेषणमा सहज पहुँच पाउनेछन्।

AI प्रविधिको प्रयोगद्वारा नक्कली तथा हस्ताक्षरविहीन कलाकृति पहिचान गर्न सकिनेछ भने ब्लकचेन प्रविधिले कलाकृतिको उत्पत्ति, स्वामित्व र प्रमाणीकरणको विश्वसनीय डिजिटल अभिलेख बनाउनेछ।

प्रविधिमा नेपाली नेतृत्व

यस पहलमा फर्साइट ल्याब्सका प्रमुख कार्यकारी अधिकृत (CEO) सीन होवेल, माइक्रोसफ्ट एआई अज्योरका वरिष्ठ निर्देशक डा. नविन खनाल र आईटी उद्यमी संजिव राज भण्डारी को प्रविधि नेतृत्व रहेको छ। उनीहरूको सहयोगमा नेपाली कलामा डिजिटल प्रविधिको क्रान्तिकारी प्रवेश सम्भव भएको हो।

कलाकार र आमजनबीचको सेतु

प्रदर्शनीमा आउने आगन्तुकहरूलाई कलाकारहरूसँग प्रत्यक्ष संवाद गर्ने दुर्लभ अवसर पनि प्रदान गरिएको थियो। आगन्तुकहरूले कलाकृतिका प्रेरणा, इतिहास र सिर्जनशील प्रक्रियाबारे कलाकारहरूसँग प्रत्यक्ष कुरा गर्ने मौका पाएका थिए।

काउन्सिलको दीर्घकालीन उद्देश्य

हिमालयन आर्ट काउन्सिलको मुख्य उद्देश्य परम्परागत हिमाली र नेपाली कलालाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हो। काउन्सिलले भविष्यमा पनि यस्ता कला प्रवर्द्धनमूलक प्रदर्शनी र डिजिटल परियोजनाहरूलाई निरन्तरता दिने बताएको छ।

नेपालको समृद्ध कला र सांस्कृतिक सम्पदालाई नवप्रविधिसँग जोडेर विश्वसामु प्रस्तुत गर्ने यो पहल कला क्षेत्रका लागि एक प्रेरणादायी र आवश्यक कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM