२०८२ पुष १ गते मंगलवार

वीरगञ्ज ५ मा विकास निर्माणको अनुगमन सम्पन्न, अतिक्रमण हटाउने कार्यसमेत गरियो

 

वीरगञ्ज महानगरपालिका वडा नं ५ मा हाल भइरहेका विभिन्न विकास निर्माण सम्बन्धी कामहरूको स्थलगत अनुगमन आज सम्पन्न भएको छ। अनुगमन टोलीमा वडा अध्यक्ष प्रदिप चौरसिया, वडा सदस्य मनोज साह, साथै स्थानिय सामाजिक अगुवा व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थलगत अवलोकनको क्रममा सडक सुधार, ढल निकास व्यवस्थापन, नाला निर्माण, खानेपानी पाइपलाइन जडान, तथा अन्य आधारभूत भौतिक पूर्वाधार निर्माणका कामहरूलाई प्रत्यक्षरूपमा निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा स्थानिय बासिन्दाले निर्माण कार्यको गुणस्तर र गति सम्बन्धी विभिन्न सुझाव र गुनासा पनि राखेका थिए।

वडा अध्यक्ष चौरसियाले अनुगमनको उद्देश्य निर्माण कार्यको प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै स्थानीयको सक्रिय सहभागिताले गुणस्तरीय विकासलाई टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले निर्माणमा संलग्न निकायहरूलाई मापदण्डअनुसार काम गर्न स्पष्ट निर्देशन पनि दिए।

अनुगमन पश्चात वीरगञ्ज महानगरपालिका अन्तर्गतको भौतिक पूर्वाधार तथा अतिक्रमण नियन्त्रण समितिको समन्वय र नगर प्रहरीको सहयोगमा, वडा नं ५ स्थित सार्वजनिक नालामाथि अनाधिकृत रूपमा निर्माण गरिएका संरचनाहरू हटाउने कार्य सम्पन्न गरिएको छ। यस कार्यले सार्वजनिक स्थानको संरक्षणमा योगदान पुर्‍याउने वडा कार्यालयले जनाएको छ।

स्थानिय बासिन्दाहरूले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित विकासमा वडा कार्यालयले देखाएको सक्रियतालाई स्वागत गर्दै आगामी दिनहरूमा पनि यस्ता पहलहरू जारी राख्न आग्रह गरेका छन्।

वडा कार्यालयका अनुसार आगामी दिनहरूमा निर्माण कार्यलाई अझ व्यवस्थित, दिगो र जनउत्तरदायी बनाउने लक्ष्यका साथ योजनाहरू अघि बढाइनेछ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM