२०८३ भाद्र ८ गते सोमबार

वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

 

वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजमा राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनअन्तर्गतको संस्थागत तालिम औपचारिक रूपमा सुरु भएको छ। एनसीसी सिनियर क्याडेट तालिमका लागि छनोट भएका कलेजका ३० जना छात्र–छात्राको सहभागितामा तालिम शुभारम्भ गरिएको हो।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख सेनानी लोकेन्द्र कार्कीले प्रथम प्रवचन दिँदै तालिमको औपचारिक सुरुवात गर्नुभएको थियो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतान, क्याम्पस प्रमुख किशोरी राय, उपसेनानी विकास मरहट्टा, शिक्षक, नेपाली सेनाका अधिकृत तथा एनसीसी प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सेनानी कार्कीले युवामा अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व क्षमताको विकास गर्नु एनसीसीको प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले एनसीसी तालिमले युवालाई जिम्मेवार, अनुशासित र देशप्रति समर्पित नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

उहाँका अनुसार विपद्का समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दक्ष र जिम्मेवार जनशक्ति तयार पार्न एनसीसी तालिम उपयोगी हुनेछ। तालिमबाट विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, शारीरिक तथा मानसिक दक्षता र सामाजिक उत्तरदायित्वको भावना विकास हुने अपेक्षा गरिएको छ।

कुल १०० दिन सञ्चालन हुने तालिममा ८९ दिन संस्थागत (इन–हाउस) तालिम र ११ दिन वार्षिक सामूहिक क्याम्प सञ्चालन गरिनेछ। तालिम अवधिमा क्याडेटहरूलाई एफसीबीसी (FCBC), नक्सा अध्ययन, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो, एरोबिक्सलगायत विभिन्न साहसिक तथा व्यावहारिक गतिविधिसम्बन्धी प्रशिक्षण दिइनेछ।

तालिममा सहभागी विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासमा समेत सहभागी गराइने भएकाले उनीहरूको शारीरिक क्षमता, अनुशासन, नेतृत्व कौशल तथा आपत्कालीन अवस्थामा काम गर्ने क्षमतामा अभिवृद्धि हुने विश्वास गरिएको छ।

हरि खेतान बहुमुखी कलेजले विद्यार्थीको शैक्षिक विकाससँगै अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले एनसीसी कार्यक्रमलाई महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। तालिम पूरा गरेपछि क्याडेटहरूमा राष्ट्रसेवा, सामाजिक सेवा तथा विपद् व्यवस्थापनमा योगदान पुर्‍याउने क्षमता थप विकास हुने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM