२०८३ बैशाख ४ गते शुक्रबार

विचारको वर्गीय चरित्र : कसको पक्षमा ? जनताको पक्षमा विचार कहिले जन्मिन्छ ?

 

आज हामी “नीति”, “योजना”, “विकास”, “स्वतन्त्रता”, “समानता” जस्ता शब्दहरू बारम्बार सुन्छौं। सबैजना दाबी गर्छन्—“हामी जनताको पक्षमा छौं।” तर गम्भीर रूपमा विचार गरौं त, यी सब को पक्षमा छन्?

मार्क्सवादी दृष्टिकोणले भन्छ—विचार तटस्थ हुँदैन, त्यसले सधैं कुनै न कुनै वर्गको प्रतिनिधित्व गर्छ। त्यसैले, कुनै पनि विचार, नीति वा दर्शनलाई बुझ्दा पहिलो प्रश्न उठ्नुपर्छ—यो विचार कसको लागि हो?

मानिसको सोच उसले बाँचेको जीवन, गरेको श्रम र भोगेका पीडासँग जोडिएको हुन्छ। जसले अभाव, भोक, संघर्ष भोगेको छ, उसले स्वतन्त्रतालाई फरक ढंगले बुझ्छ।
धनी वर्गका लागि स्वतन्त्रता भनेको “बाधा नआओस्” भन्ने हो भने, गरिबका लागि स्वतन्त्रता भनेको “जीवन चलाउन पाइयोस्” भन्ने हो।

“जो श्रम गर्छ, उसैलाई दास बनाइन्छ।
जो सोच्दैन, उसैलाई विचारक मानिन्छ।
समाज उल्टो छ – मालिकको विचार सत्य बन्छ,
श्रमजीवीको आवाज सधैं दबाइन्छ।”

आज पनि यही भइरहेको छ। किसान, मजदुर, गरिब वर्ग देशको मेरुदण्ड हुन्। तर किताब लेख्ने, नीति बनाउने, संसदमा बोल्ने—सबै धनी वर्गका विशेषाधिकारजस्तै छन्। श्रमिकको चेतना र आवाजलाई कहिल्यै “विचार” मानेन।

स्कूल, मिडिया, विश्वविद्यालय, संसद, नीति आयोग—यी सबै चेतना निर्माणका साधनहरू हुन्। तर ती सबैमा सत्ताधारी वर्गको नियन्त्रण छ। तसर्थ, जनताको चेतना विकास हुने ठाउँमै थिचिन्छ।

विचारमा जनताको सहभागिता हुनैपर्छ। त्यसका लागि श्रमजीवी वर्गका छोराछोरीहरूले शिक्षा, नीति निर्माण, दर्शन र नेतृत्वमा प्रवेश गर्नुपर्छ।जब विचार जनताको जीवनबाट जन्मिन्छ, तब मात्र त्यो विचार जनताको पक्षमा हुन्छ।

विचार केवल ज्ञान होइन, शक्ति हो। र त्यो शक्ति कसको पक्षमा प्रयोग हुन्छ, त्यसले भविष्य निर्माण गर्छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM