२०८२ मंसिर २६ गते शुक्रबार

वीरगञ्ज महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट मोबाइल फोन वितरण

 

वीरगञ्ज महानगरपालिकाले वडा तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण गर्दै स्वास्थ्य सेवा प्रवाहमा प्रविधिको सहजीकरण थालेको छ। सोमबार महानगरपालिकाको सभाकक्षमा आयोजित एक विशेष कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन हस्तान्तरण गरेका हुन्।

महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राजु साहका अनुसार, पहिलो चरणमा वडा नं. १ देखि १६ सम्म कार्यरत ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको हो। महानगरका ३२ वटै वडामा हाल १९८ जना स्वयंसेविका कार्यरत छन्। बाँकी वडा नं. १७ देखि ३२ सम्म का स्वयंसेविकालाई एक हप्ताभित्रै वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए।

साहका अनुसार, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल वितरण गर्नुको उद्देश्य फिल्डमा काम गर्न सजिलो बनाउनु हो। गर्भवती महिलाको नियमित जाँच, बच्चाहरूको खोप लगाउने समयको जानकारी र त्यसपछिको रिपोर्टिङ जस्ता कार्यमा उनीहरूलाई प्रविधिको प्रयोगले सहज बनाउने आशा गरिएको छ।


सिंहले संघ र प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाप्रति गरेको अनदेखी र न्यून सुविधा व्यवस्थाप्रति असन्तोष व्यक्त गर्दै महानगरले उनीहरूको भत्ता र सुविधामा केही वृद्धि गरेको र आगामी दिनमा पनि यो निरन्तर जारी रहने बताए।

त्यसैगरी, महानगरले वितरण गरेको मोबाइल फोनको दुरुपयोग नहोस् भन्नेमा स्वयंसेविकाहरूलाई सजग रहन आग्रह पनि गरिएको छ।कार्यक्रममा महानगर प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, स्वास्थ्य शाखाका अन्य पदाधिकारी, विभिन्न वडाका अध्यक्षहरू र स्वयंसेविका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्टफोन वितरण गर्दै वीरगञ्ज महानगरपालिकाले स्थानीय स्वास्थ्य सेवामा प्रविधिको पहुँच विस्तार र डिजिटल सुशासनको अभ्यासलाई अघि बढाएको छ। यसले स्वास्थ्य सूचनाको संकलन, संप्रेषण र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM