रौतहटका पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन्। कटहरिया नगरपालिका–५ का करिब ३० वर्षीय प्रजापति शनिबार बेलुका घरमै झुन्डिएका अवस्थामा फेला परे। परिवारले पासो काटेर तत्काल अस्पताल लगेको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार प्रजापतिको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ।
प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए र समाचार लेख्ने तथा पढ्ने काम गर्थे। हालै उनले खानेपानी समस्यासम्बन्धी समाचार प्रकाशित गरेपछि कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट निरन्तर धम्की र गालीगलौजको सामना गर्नुपरेको परिवार र स्थानीयको भनाइ छ।
स्थानीयको अनुसार, मेयरको धम्कीका कारण प्रजापति अत्यन्त तनावमा थिए र डरले घर बाहिर निस्किन समेत सकेका थिएनन्।
यसअघि प्रेस चौतारी रौतहट शाखाले जेष्ठ २९ गते एक विज्ञप्ति जारी गर्दै मेयर जयसवालको धम्कीको विरोध गर्दै दोषीमाथि छानविन र कारबाहीको माग गरेको थियो।
तर, प्रहरी नायब उपरीक्षक कार्कीले मेयरले धम्की दिएको विषयमा आफूलाई आधिकारिक जानकारी नभएको बताएका छन्। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















