रक्सौल क्षेत्रका स्थानीयवासीलाई दिनानुदिन पर्खाइमा राख्दै आएको हाई लेवल पुलको निर्माण कार्यमा भएको ढिलाइका कारण जनजीवन प्रभावित हुँदै आएको छ। यसै विषयलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै महिला सुरक्षा विकास मञ्चको टोलीले शनिबार अनुमण्डल पदाधिकारी (एसडीएम) मनीष कुमारलाई ज्ञापनपत्र बुझाएको छ।
मञ्चकी अध्यक्ष सरोज गिरी, कोषाध्यक्ष विनोद कुमार र सचिव नवीन गिरीले संयुक्तरूपमा बुझाएको ज्ञापनपत्रमा, पुल निर्माण कार्य लम्बिँदै जाँदा पैदल यात्रु, विद्यार्थी, आपतकालीन बिरामी र सवारी साधनका प्रयोगकर्ताले ठूलो सास्ती भोगिरहेको उल्लेख गरिएको छ। तत्कालीन राहतका लागि अस्थायी पिपा पुल निर्माण गरी जनतालाई सहज पार्नुपर्ने माग गरिएको छ।
त्यस्तै, रक्सौलमा १८ वर्षभन्दा कम उमेरका किशोर–किशोरीले ई–रिक्शा चलाउने प्रवृत्ति बढ्दो अवस्थामा रहेको र उनीहरूसँग कानुनी रुपमा मान्य ड्राइभिङ लाइसेन्स नहुँदा दुर्घटना र सुरक्षाको जोखिम उच्च भएको भन्दै, यस्तो गतिविधि तत्काल रोक्नुपर्ने माग पनि राखिएको छ।
मञ्चका पदाधिकारीहरूले बताएका छन्, “नाबालिग चालकहरूलाई अनुगमन र नियमन नगरे सुरक्षा चुनौती बढ्नेछ, जसले दुर्घटना र कानुनी समस्या पनि निम्त्याउन सक्छ।”
ज्ञापनपत्र बुझिसकेपछि एसडीएम मनीष कुमारले दुबै विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी छिट्टै आवश्यक कार्यवाही अघि बढाइने आश्वासन दिएका छन्। उनले जनहितका काममा स्थानीय प्रशासन सदैव संवेदनशील हुने बताए।
स्थानीय बासिन्दाहरूले मञ्चको यस पहललाई स्वागत गर्दै रक्सौल क्षेत्रका यातायात समस्या समाधानमा यो कदम सकारात्मक हुने आशा व्यक्त गरेका छन्।



















