पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा लाखौं रुपैयाँको अनियमितता उजागर भएपछि नेकपा एमालेका युवा नेता अकलेश साहले सार्वजनिक रूपमा कडा आपत्ति जनाएका छन्। महालेखापरीक्षकको प्रतिवेदनमा उजागर भएको भ्रष्टाचारप्रति साहले गम्भीर चिन्ता व्यक्त गर्दै फेसबुक लाइभमार्फत स्थानीय जनप्रतिनिधिमाथि तीव्र असन्तोष प्रकट गरेका हुन्।
मोबाइल खरिदमा अनियमितता प्रतिवेदन अनुसार गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र अन्य कार्यपालिका पदाधिकारीहरूका लागि ४३ थान मोबाइल सेट खरिद गर्दा ९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ। प्रति मोबाइल १९,७०० पर्ने यी सेटहरू इलेक्ट्रोनिक्स वल्ड नामक फर्मबाट खरिद गरिएका थिए। तर न त नगरसभाबाट स्वीकृति लिइएको थियो, न त प्रयोगको पुष्टि। महालेखाले यो खर्चलाई गैरकानुनी ठहर गर्दै रकम फिर्ता गर्न सुझाव दिएको छ।
युवा नेता साहले प्रतिक्रिया दिँदै भने, “जनताको हितमा खर्च हुनुपर्ने बजेट आफन्त र पदाधिकारीको व्यक्तिगत सुविधामा प्रयोग हुनु सरासर जनधनको दुरुपयोग हो।”
उपाध्यक्षमाथि दोहोरो सुविधा लिएको आरोप गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशामाथि मोटरसाइकल र इन्धन सुविधा पाएपछि समेत मासिक यातायात भत्ता लिएको आरोप लागेको छ। प्रतिवेदन अनुसार, ४ लाख ४९ हजारमा मोटरसाइकल दिइएपछि पनि उनले ९ महिनासम्म १४,५०० दरले १ लाख ३० हजार अतिरिक्त भत्ता लिएकी थिइन्, जुन दोहोरो सुविधा अन्तर्गत गैरकानुनी ठहर गरिएको छ।
स्वास्थ्य सेवा अस्तव्यस्त साहले स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क औषधिहरू नपाइने गम्भीर समस्या उठाउँदै भने, “सरकारले तोकेको ९८ प्रकारका निःशुल्क औषधि मध्ये धेरैजसो मैनपुरका स्वास्थ्य चौकीमा छैनन्, जनताको स्वास्थ्यप्रति यस्तो उपेक्षा अक्षम्य हो।”
“मिसन २०८४” र नेतृत्वको अपेक्षा फेसबुक लाइभमा हजारौं स्थानीय दर्शकहरूले साहलाई आगामी निर्वाचनमा नेतृत्व सम्हाल्न आग्रह गरेका छन्। उनीहरूको विश्वास छ साहको इमानदारी, जनसेवा भाव र निर्भीकताले गाउँमा नयाँ परिवर्तन ल्याउन सक्छ।
साहले आव्हान गर्दै भने, “यो लडाइँ कुनै पार्टीको होइन, गाउँको भविष्यको हो। भ्रष्टाचारविरुद्ध सबै सचेत नागरिक, युवाहरू, महिलाहरू एकजुट हुनुपर्छ।”
परिवर्तनको मोडमा गाउँपालिका महालेखाको प्रतिवेदन र साहको टिप्पणीले पकहाँ मैनपुरमा व्यापक बहस जन्माएको छ। यदि स्थानीय जनताले मौनता त्यागे, गाउँपालिकाबाटै सुशासन र पारदर्शिताको सुरुआत हुन सक्ने जनअपेक्षा बलियो हुँदै गएको देखिन्छ।



















