शिक्षा क्षेत्रको गुणस्तर वृद्धिसँगै संस्थागत विद्यालयहरूको सशक्त संगठन निर्माण गर्ने लक्ष्यका साथ राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) पर्साले संगठन विस्तारको अभियान तीव्र बनाएको छ।
यसैक्रममा प्याब्सन पर्साका अध्यक्ष श्री सरोज चौधरीको नेतृत्वमा प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य छेडुप लामा, अन्य पदाधिकारीहरू तथा सदस्यहरूको समावेश रहेको टोलीले पर्सा जिल्लाको विभिन्न स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरूका विद्यालयहरूमा भ्रमण सम्पन्न गरेको छ।
टोलीले छिपहरमाई,पकहामैनपुर, कालिकामाई,बिन्दबासिनी,जगरनाथपुर, सखुवा प्रसौनी, बहुदरमाई लगायतका पालिकामा अवस्थित निजी तथा आवासीय विद्यालयहरूमा पुगेर प्याब्सनको उद्देश्य, संगठनका कार्ययोजना र विद्यालयहरूसँगको सहकार्यको सम्भावनाबारे विस्तृत छलफल गरेको थियो।
टोलीले भ्रमण क्रममा विद्यालय सञ्चालक, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालासँग पनि छलफल गर्दै शिक्षा प्रणालीमा एकरूपता, गुणस्तरीय सुधार र निजी विद्यालयको स्थायित्वका विषयमा जानकारी गराएको थियो।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले भने “हामी पर्सा जिल्लाभरिका निजी विद्यालयहरूलाई एउटै संस्थागत संरचनामा समेट्दै गुणस्तरीय शिक्षा, शिक्षक अधिकारको संरक्षण र विद्यार्थीकेन्द्रित नविनतम अभ्यासलाई अघि बढाउने लक्ष्यसहित अघि बढिरहेका छौं। संगठनको पहुँच गाउँ–गाउँसम्म पुगोस् भन्ने हाम्रो उद्देश्य हो।”
त्यस्तै, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले संगठनको विस्तार मात्र होइन, शिक्षक, विद्यालय र अभिभावकबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्न पनि अभियान केन्द्रित रहेको उल्लेख गरे।
संगठन विस्तारकै सिलसिलामा प्याब्सन टोलीले केही विद्यालयहरूलाई प्याब्सन सदस्यता लिन आग्रह गरेकामा, धेरै विद्यालयहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। भ्रमणको क्रममा विद्यालयहरूसँग भविष्यमा आयोजना हुने शिक्षक प्रशिक्षण, विद्यार्थी प्रतियोगिता, स्वास्थ्य तथा साइबर सचेतना जस्ता विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाइएको थियो।
प्याब्सन पर्साले आगामी दिनमा जिल्लाका सबै पालिकामा संगठन विस्तार गर्दै निजी विद्यालयहरूको हकहित र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा अझ सशक्त भूमिका निर्वाह गर्ने बताएको छ।



















