२०८२ माघ ११ गते आईतवार

वीरगंजमा दीर्घकालीन खानेपानी समाधानको पहल : चुरे क्षेत्रको संरक्षण र नमूना अध्ययन भ्रमण सम्पन्न

 

वीरगंज महानगरपालिकाले दीर्घकालीन खानेपानी समस्या समाधान गर्न चुरे क्षेत्रको जलस्रोत संरक्षणप्रति चासो देखाउँदै अध्ययन र अवलोकन भ्रमणको आयोजना गरेको छ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति काठमाडौं, शाखा कार्यालय भरतपुर चितवनको सहजीकरणमा आज जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २१, अमलेखगञ्जस्थित कर्मकुमारी खानेपानी तथा उपभोक्ता समिति मा अध्ययन भ्रमण गरिएको हो।

भ्रमणका क्रममा सहभागी टोलीले भूमिगत पानी संरक्षण गरेर अमलेखगञ्जका ८८७ घरधुरीलाई नियमित रूपमा पानी वितरण गरिरहेको सफल मोडलको अवलोकन गरेको थियो। समितिले २४ लाख लिटर पानी सञ्चित गर्न सक्ने ट्यांकी बनाएको छ, जसले चुरे क्षेत्रको पानीलाई समेटेर प्रशोधन गरी घरघरमा आपूर्ति गर्दै आएको छ।

वडाध्यक्ष नारायण लामिछाने मगरका अनुसार, अमलेखगञ्जको चार नम्बर पुल खोला क्षेत्रको सतहमा २४ मिटर लम्बाई, २ मिटर चौडाई र २.५ मिटर गहिराईको ट्यांकी निर्माण गरिएको छ। उक्त ट्यांकीबाट ६ इन्चको प्लास्टिक पाइपमार्फत ५ किलोमिटर टाढा रहेको खानेपानी ट्यांकीमा पानी पुर्‍याइन्छ, जहाँबाट प्रशोधनपछि १ इन्चको पाइपद्वारा उपभोक्तालाई वितरण गरिन्छ।

यही मोडलको आधारमा चुरे भावर क्षेत्रमा पोखरी निर्माण गरी चुरेको पानीलाई संरक्षण गर्ने निष्कर्षमा वीरगंज महानगरपालिका पुगेको छ।

महानगर प्रमुख राजेशमान सिंहले जानकारी गराउँदै भने, “वीरगंज बेलवा स्थित भेडाहा खोला नजिकै पोखरी र बाँध निर्माण गरिएमा चुरेको बाढीको पानी संरक्षण गर्न सकिन्छ। जमिन मुनिको पानीको तह (लेयर) माथि आउन मद्दत पुग्नेछ। यसले हरेक चापाकलमा पानी आउन सक्ने सम्भावना बढाउँछ।”

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका केन्द्रीय अध्यक्ष किरण पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नगर प्रहरी प्रमुख हरी भुसाल, इन्जिनियर अनिल सिन्हा, वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका कर्मचारीहरू, तथा विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

महानगरले अब चुरे क्षेत्रको पानी खेर जान नदिई त्यसलाई उपयोगमा ल्याउने दीर्घकालीन योजना अगाडि बढाउने संकेत दिएको छ। यस्तो प्रयासले वीरगंजको खानेपानी संकट समाधानमा आशाजनक मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM