नेपालमा औद्योगिक सामग्रीहरूको अनलाइन किनबेचलाई औपचारिक रूपमा अघि बढाउँदै ‘By Nepal’ नामक नयाँ डिजिटल प्लेटफर्मको भव्य शुभारम्भ बिहीबार वीरगञ्जमा सम्पन्न भएको छ।
यससँगै, नेपालमा निर्माण सामग्री, मेसिनरी, सुरक्षा उपकरण, बिजुली तथा मेकानिकल सामाग्रीहरू, कृषि उपकरणलगायतका औद्योगिक वस्तुहरूको सहज अनलाइन खरिदको युगको प्रारम्भ भएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, संघ वीरगञ्ज अध्यक्ष हरी गौतम, व्यवसायी तथा साहित्यकार गणेश लाठ, उद्योगी व्यापारी, प्रविधिकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिहरूले By Nepal जस्तो नवीनतम डिजिटल पहलले औद्योगिक क्षेत्रको आधुनिकीकरण र व्यावसायिक प्रक्रियालाई थप सहज बनाउने अपेक्षा व्यक्त गरे।
प्लेटफर्मका प्रमुख विशेषताहरू अनलाइन अर्डर प्रणालीमार्फत विभिन्न सामग्रीको सहज खरिद
स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उपलब्धता व्यवसायिक ग्राहकहरूलाई लक्षित सेवा छिटो, पारदर्शी र भरपर्दो आपूर्ति प्रक्रिया By Nepal डिजिटल प्लेटफर्मले आयातमा निर्भरता घटाउने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने, र स्रोत तथा लागतको बचत गर्दै समयमै सामग्री प्राप्त हुने सुनिश्चित वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।
संस्थाका अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले भने “नेपालमा डिजिटल औद्योगिक कारोबारको अभावलाई सम्बोधन गर्दै By Nepal ले दीर्घकालीन रूपमा उद्यमीहरूलाई भरपर्दो समर्थन दिनेछ। हामीले नेपाली उत्पादनलाई प्राथमिकता दिने नीति लिएका छौं।”
कार्यक्रममा उपस्थित उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले यस्तो डिजिटल प्लेटफर्मले विशेषतः मधेस प्रदेश र वीरगञ्जजस्ता औद्योगिक केन्द्रमा आपूर्ति श्रृंखलालाई गति दिने, पारदर्शिता ल्याउने, तथा खरिद प्रक्रिया सरल बनाउने उल्लेख गरेका थिए।
गणेश लाठले भने,“यो प्लेटफर्म सिर्जनात्मक सोच र व्यावसायिक आवश्यकता दुवैको संगम हो। यसले साना तथा ठूला उद्यमीलाई एउटै डिजिटल छानामुनि ल्याउनेछ।”



















