गरीब तथा असहाय वर्गलाई लक्षित गर्दै वीरगंज कपडा बैंकले शुक्रबार वीरगंजको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले नया तथा पुराना गरी करिब ६०० थान कपडा वितरण गरेको हो।

कार्यक्रम वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि रूपमा संस्थाका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको उपस्थितिमा भएको कार्यक्रममा सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी सतिश सिंह राजपूत, हुकुम सिंह राजपूत, युवा अभियन्ता केदार गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, राजनाथ मिश्र, उपाध्यक्ष मोनिका सिंह, कोषाध्यक्ष, तथा सदस्यहरू संजय मण्डल, जानकी देवी, नवराज भट्टराई, अभिलाष गुप्ता, प्रकाश थारु, अजित भुजेल, राजेन्द्र भट्टराई, राज सराफ लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
“जो संग धेरै कपडा छ, हामिलाई दिएर जानुहोस्। जसलाई आवश्यक छ, हामीसँग लिएर जानुहोस्।”
— अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, प्रमुख अतिथि
कपडा बैंकका सचिव कन्हैया पटेलका अनुसार बैंकले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म वीरगंज–८ स्थित कार्यालयबाट पनि नियमित रूपमा नि:शुल्क कपडा वितरण गर्दै आएको छ।
प्रमुख अतिथि अधिवक्ता कुर्मीले बैंकले पछिल्ला ६ वर्षदेखि विपद्, बाढी, आगलागी तथा अन्य संकटग्रस्त अवस्थामा पीडितलाई उनीहरूकै घरमा पुगेर कपडासहित आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए। उनले आम्दानीको ५–१० प्रतिशत सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्नुपर्नेमा जोड दिँदै सबै दाताहरू, सुभेच्छुकहरू, सञ्चारकर्मी तथा पदाधिकारीप्रति आभार व्यक्त गरे।
त्यसैगरी, सल्लाहकार अधिवक्ता उपाध्यायले “कोही पनि नाङ्गो नरहोस्” भन्ने भावना अनुरूप चाडपर्वका अवसरमा नयाँजस्तो देखिने कपडा उपलब्ध गराउन सबै सहयोगीप्रति आह्वान गरे।
अध्यक्ष सिंहले सबैको साझा प्रयासले दिनदुःखीको सेवा सम्भव भएको भन्दै यो कार्य मानव धर्मको सर्वोत्तम अभ्यास भएको बताए। उनले सबैलाई आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्दै धन्यवाद ज्ञापन गरे।



















