विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै वीरगञ्ज महानगरपालिका–१० निवासी युवा खेलाडी अरनीस गुप्ताले ऐतिहासिक सफलता हासिल गरेका छन्। डेनमार्कको होरिङ स्टेडियममा जुलाई २० देखि २७ तारिखसम्म सम्पन्न उक्त प्रतियोगितामा उनले नेपाललाई प्रतिनिधित्व गर्दै AG10 Academy (Goals Academy) बाट अन्डर–१४ समूहमा खेल्दै टिमलाई समूह विजेता बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्।
यस उत्कृष्ट उपलब्धिका लागि वीरगञ्ज महानगरपालिकाले विशेष सम्मान गर्दै नगरप्रमुख राजेशमान सिंहद्वारा प्रशंसा पत्र प्रदान गरिएको हो। उक्त अवसरमा नेपाल ईनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई,सत्यराज घिमिरे एवं खेलप्रेमी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त प्रतियोगितामा ब्राजिल, मेक्सिको, डेनमार्क, स्पेन, नर्वे, युएई, क्यानडा, अमेरिका लगायत विश्वका ५० भन्दा बढी देशका २५०० एकेडेमीहरू सहभागी थिए। प्रतिस्पर्धात्मक वातावरणमा फाईनल खेलमा केन्याको LEIT Soccer Academy लाई 3–1 गोल अन्तरले पराजित गर्दै नेपाली टिमले ऐतिहासिक उपाधि जितेको हो।
अरनीस गुप्ताले राईट फरवार्ड खेलाडीको रूपमा उत्कृष्ट प्रदर्शन गर्दै एक निर्णायक गोलको योगदान दिई नेपालको झण्डा अन्तर्राष्ट्रिय मैदानमा उच्च बनाएका छन्। यस उपलब्धिले वीरगञ्ज मात्र होइन, समग्र देशको गौरव बढाएको नगरप्रमुख सिंहले बताएका थिए।
वीरगञ्ज महानगरपालिकाले युवा प्रतिभाहरूको प्रोत्साहन र सम्मानमार्फत भविष्यका राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा निरन्तर साथ दिने प्रतिवद्धता जनाएको छ।
अरनीस गुप्ताको मेहनत, लगन र उपलब्धिले स्थानीय स्तरका युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।




















