मधेश प्रदेश नेत्रहीन क्रिकेट संघको आयोजनामा दृष्टि सम्बन्धी अपांगता भएका खेलाडीहरूका लागि सञ्चालन गरिएको ५ दिने क्रिकेट प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राउन्ड टेबल नेपाल (BFRT 8) को सहयोगमा बिरगंज–५ स्थित मुनलाइट स्कुलमा आयोजित उक्त कार्यक्रममा देशका १२ जिल्लाबाट २४ जना खेलाडीहरूको सहभागिता रहेको थियो।
लायन्स क्लब अफ बिरगंज सेसमीकी अध्यक्ष पिया सिंहले दृष्टिविहीन खेलाडीहरूको आत्मबल र मेहनतबाट सबैले प्रेरणा लिनुपर्ने बताइन्।
प्रशिक्षण अवधिमा सहभागी खेलाडीहरूलाई दुई टिम—सगरमाथा र कञ्चनजंघामा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। फाइनल खेलमा सगरमाथा टिमले १० ओभरमा १५० रन बनाउँदै कञ्चनजंघा टिमलाई १२ रनले पराजित गरेको थियो। खेलमा मिथलेश पण्डित ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।
कार्यक्रमबाट उत्कृष्ट १४ खेलाडी छनोट गरिएका छन्, जसले आगामी वैशाख ५ देखि ८ गतेसम्म चितवनमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन्।कार्यक्रमका अध्यक्ष रुपशिला जैसवालले दृष्टिविहीन खेलाडीहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गरेका थिए।









