प्रजातान्त्रिक पार्टी, नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–२३, प्रसौनी बिर्ता निवासी विजय पासवानलाई पार्टीको केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सभापतिमा मनोनीत गरेको छ।पार्टीका अध्यक्ष तारानाथ लुइँटेलले २०८३ साल असोज २५ गते जारी गरेको मनोनयनपत्रमार्फत पासवानलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्। पार्टीको विधान, २०७३ बमोजिम उनलाई केन्द्रीय सदस्य तथा जिल्ला सभापतिको जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।
विगत दुई दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय पासवान दलित, भूमिहीन, सुकुम्बासी तथा हरवा–चरवा समुदायको हकहित र अधिकारका लागि निरन्तर काम गर्दै आएका सामाजिक अभियन्ता हुन्। विभिन्न संघसंस्थामार्फत सामाजिक न्याय, समानता, अधिकार संरक्षण तथा विपन्न समुदायको उत्थानका क्षेत्रमा योगदान पुर्याउँदै आएका उनले समाजमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन्।
लामो समयदेखि समाजका पछाडि पारिएका तथा सीमान्तकृत समुदायका सवाल उठाउँदै आएका पासवानले सामाजिक अभियानमार्फत उनीहरूको अधिकार र अवसरका विषयमा आवाज उठाउँदै आएका छन्। उनको सामाजिक सक्रियता र अनुभवलाई राजनीतिक तथा सांगठनिक क्षेत्रमा उपयोग गर्ने अवसरका रूपमा पार्टीको नयाँ जिम्मेवारीलाई हेरिएको छ।
पार्टीको केन्द्रीय सदस्यसँगै जिल्ला सभापतिको जिम्मेवारी पाएका पासवानका लागि अब पर्सा जिल्लामा पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा सामाजिक मुद्दालाई राजनीतिक बहसमा प्राथमिकता दिनुपर्ने चुनौती र अवसर दुवै रहनेछन्।
मनोनयनपत्रमा अध्यक्ष लुइँटेलले राष्ट्रको एकतालाई आत्मसात् गर्दै पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर सुम्पिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गरेका छन्। साथै, उनले पासवानको कार्यकाल सफलताको कामनासमेत गरेका छन्।
सामाजिक क्षेत्रमा दुई दशक लामो अनुभव हासिल गरेका पासवानलाई पार्टीले महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेसँगै पर्सामा पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ। सामाजिक न्याय र सीमान्तकृत समुदायका मुद्दामा उनको अनुभवले पार्टीको आगामी गतिविधिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
























